काठमाडौं । भारतीय प्रधानसेनापति जनरल धिरज सेठ आज काठमाडौं आउँदैछन्। उनी अपराह्न करिब ४ बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री बालेन शाहले सत्ता सम्हालेपछि भारतबाट नेपाल भ्रमणमा आउन लागेका सेठ अहिलेसम्मकै उच्च तहका भारतीय अधिकारी हुन्। भारतीय प्रधानसेनापतिको पहिलो विदेश भ्रमण नेपालबाट सुरु हुनुलाई कूटनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।
काठमाडौं बसाइका क्रममा सेठले रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह तथा नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। यद्यपि, उनको भ्रमणको विस्तृत कार्यक्रमबारे परराष्ट्र मन्त्रालय र नेपाली सेनाले औपचारिक जानकारी सार्वजनिक गरिसकेका छैनन्।
सोमबार मानार्थ महारथीको दर्जा ग्रहण गर्ने
भारतको प्रधानसेनापतिको पद २०२६ जुन ३० मा सम्हालेका सेठ नेपालका तर्फबाट प्रदान गरिने मानार्थ महारथीको दर्जा ग्रहण गर्न नेपाल आउन लागेका हुन्।
भ्रमणका क्रममा उनले सैनिक मञ्च, टुँडिखेल पुगेर श्रद्धाञ्जली अर्पण गर्ने तथा प्रधानसेनापति सिग्देलसँग दुई देशका सेनाबीचको आपसी सहयोग र सहकार्यका विषयमा छलफल गर्ने तयारी छ।
त्यसैगरी, राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार शीतल निवासमा आयोजना गर्ने विशेष समारोहमा भारतीय प्रधानसेनापति सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने मुख्य कार्यक्रम रहेको छ।
भारतीय प्रधानसेनापतिलाई नेपाल र नेपाली सेनाका प्रधानसेनापतिलाई भारतले मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा करिब सात दशकदेखि कायम छ। नेपाली सेनाका अनुसार यो परम्परा सन् १९५० देखि सुरु भएको हो।
यसै परम्पराअनुसार नेपाली सेनाका वर्तमान प्रधानसेनापति अशोकराज सिग्देलले पनि भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्राप्त गरिसकेका छन्।
२७ मंसिर २०८१ मा नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानसेनापति सिग्देललाई भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेकी थिइन्।




















