काठमाडौं । चीनतर्फ सिन्धुपाल्चोकको सीमावर्ती क्षेत्रनजिकै ठूलो पहिरो खस्दा भोटेकोसी नदीको बहाव आधाजति रोकिएको जनाइएको छ।
सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ लिपिङको पारिपट्टि चीनतर्फ न्यालमस्थित झिम्मु पोस्ट नजिकको भिरबाट ढुङ्गामाटोसहितको पहिरो खसिरहेको स्थानीय प्रहरीले जनाएको छ।
चीनबाट नेपालतर्फ बग्ने भोटेकोसी नदीको बहाव पहिरोका कारण आधाजति रोकिएको जानकारी प्राप्त भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
पहिरोका कारण नदीको बहावमा थप अवरोध आउन सक्ने तथा पानीको सतहमा अचानक परिवर्तन हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै भोटेकोसी र सुनकोसी नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
महाशाखाले भोटेकोसी नदी हुँदै सुनकोसी नदीको दोलालघाटसम्मका नदी तटीय क्षेत्रमा अर्को सूचना जारी नभएसम्म विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।
नदी किनार तथा तटीय क्षेत्रमा रहेका बासिन्दालाई सम्भावित जोखिमलाई ध्यानमा राख्दै सावधानी अपनाउन र नदीको बहाव तथा पानीको सतहमा आउने परिवर्तनबारे सचेत रहन आग्रह गरिएको छ।
विशेषगरी भोटेकोशी, बाह्रबीसे, बलेफी पालिका अन्तर्गतका नदी तटीय बासिन्दालाई सतर्क रहन तथा नदी किनार र जोखिमयुक्त क्षेत्रमा नजान सशस्त्र प्रहरी बल लामोसाँघुले अनुरोध गरेको छ ।




















