काठमाडौं । बुधबार मध्यराति पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले आज विहानै उनको जनआस्था साप्ताहिकको सानेपास्थित कार्यालयमा समेत खानतलासी गरेको छ ।
प्रहरीको टोली बिहीबार बिहान करिब ७ बजे जनआस्था कार्यालय पुगेको थियो। कार्यालयमा पुगेका चार–पाँच जना प्रहरीभित्र प्रवेश गरेका थिए भने अन्य प्रहरी बाहिर बसेका थिए। प्रहरीले कार्यालयका कागजपत्र तथा विभिन्न इलेक्ट्रोनिक उपकरण र कम्प्युटरजन्य सामग्रीबारे जाँच तथा संकलन गरेको जनाइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाले कम्प्युटर तथा कम्प्युटरजन्य डिभाइस हेर्नुपर्ने भएकाले कार्यालयमा खानतलासी गरिएको बताए।
प्रहरीले पत्रकार श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धान भइरहेको जनाएको छ।
श्रेष्ठको पक्राउको विरोधमा नेपाल पत्रकार महासंघले कडा आन्दोलन गर्ने चेतावनी दिएको छ। महासंघकी अध्यक्ष निर्मला शर्मासहित पत्रकार तथा सञ्चारकर्मीहरूले काठमाडौं प्रहरी परिसरअगाडि धर्ना दिँदै श्रेष्ठको पक्राउप्रति आपत्ति जनाएका छन्।
विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठ प्रेस काउन्सिल नेपालका पूर्वकावाअध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्वमहासचिव हुन्।
बुधबार राति नै पत्रकार श्रेष्ठको नख्खुस्थित निवासमा प्रहरीले छापा मारेर ल्यापटप, कम्प्युटर तथा मोबाइल फोन नियन्त्रणमा लिएको पारिवारिक स्रोतले जनाएको छ ।
पत्रकार पक्राउपछि उनको कार्यालयमै प्रहरीले खानतलासी गरेको घटनालाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको दृष्टिले समेत गम्भीर रूपमा हेरिएको छ।




















