काठमाडौं । दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘चिरञ्जीवी भवः’को छायांकन सम्पन्न भएको छ । जेठ १५ गतेदेखि सुरु भएको फिल्मको छायांकन ५१ दिनमा सकिएको हो ।
जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको चलचित्रको छायांकन धनकुटा, सुनसरी र काठमाडौंमा गरिएको निर्माण पक्षले जनाएको छ ।
निर्देशक आचार्यको निर्देशनमा बनेको चलचित्र ‘परान’ गत वर्ष सर्वाधिक ग्रस कलेक्सन गर्ने नेपाली चलचित्र बनेको थियो । नयाँ चलचित्रमा आचार्यसँगै कुमार कट्टेल ‘जिग्री ब्रो’ पनि प्रमुख भूमिकामा छन् । कुमार कट्टेलको कथामा दीपकप्रसाद आचार्यले चलचित्र निर्माण गरेका हुन् ।
चलचित्रमा हरिवंश आचार्य, करिश्मा मानन्धर, आशीर्वाद क्षेत्री तथा मोडल एवं इन्फ्लुएन्सर प्रशंसा रायमाझीलगायत कलाकार मुख्य भूमिकामा छन् ।
त्यस्तै कमलमणि नेपाल, रविन्द्र झा, सुमन कार्की, काजल कर्ण, सुवर्ण थापा, सरोज अर्याल, हरिस निरौला ‘कक्रोज’, गीता अधिकारी, रुक्मिला अधिकारी, सुस्मिता कुँवर, अशोक धिताल र सुमन ज्योति न्यौपानेलगायत कलाकारको पनि अभिनय रहेको छ ।
कुमार कट्टेलको कथामा आधारित चलचित्रको कथा लेखन सविन अधिकारी र वसन्त न्यौपानेले गरेका हुन् ।
सोसल ड्रामाका रूपमा निर्माण गरिएको ‘चिरञ्जीवी भवः’ले दुई पुस्ताबीचको वैचारिक भिन्नता, पारिवारिक सम्बन्ध र पुस्तान्तरणका विषयलाई कथाको केन्द्रमा राखेको निर्माण पक्षले जनाएको छ ।
चलचित्र आगामी माघ १ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउनेछ ।




















