काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार दुर्घटनामा अन्दाजी ४० वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको हो।
बिहीबार बिहान करिब साढे १० बजे कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा२ख ३५९० नम्बरको बस फ्लाइओभरमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका ६ जनालाई उपचारका लागि ललितपुरस्थित बी एण्ड बी अस्पताल पठाइएको छ। घाइतेहरूको अवस्था र मृतकको पहिचान खुल्ने क्रममा रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।




















