काठमाडौँ । नेपाली फिल्म ‘झिँगेदाउ–२’ को १ मिनेट ५१ सेकेन्ड लामो टिजर सार्वजनिक गरिएको छ। टिजरले पारिवारिक सम्बन्ध, देउरानी–जेठानीबीचको विवाद र कथामा आउने नयाँ मोडलाई प्रस्तुत गरेको छ।
टिजरको सुरुवातमै हिउँवाला गौतम मध्यरातमा घर छाडेर हिँडेको दृश्य देखाइएको छ। त्यसपछि परिवारका सदस्यहरू उनलाई खोज्न व्यस्त रहेको दृश्यले कथाको रहस्यलाई थप रोचक बनाएको छ।
निर्माण टिमले पहिलो भागको स्वादलाई निरन्तरता दिँदै केही नयाँ ट्विस्टसमेत समेटेको संकेत टिजरमार्फत दिएको छ। विशेषगरी अभिनेता आर्यन सिग्देल साङ्लोले बाँधिएको अवस्थामा देखिनुले कथामा नयाँ रहस्य र मोड आउने संकेत गरेको छ।
फिल्ममा केकी अधिकारी र आँचल शर्मा देउरानी–जेठानीको भूमिकामा छन् भने महेश त्रिपाठी र कुशल विष्ट दाजुभाइको भूमिकामा देखिएका छन्।
ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्ममा सरोज खनाल, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभय राज बराल, उत्तम केसी, शिवहरि वैरागी, आशा भुसाल, रेन प्रधान, विनोद कुमार पौडेल, आशिष पुरुष, विष्णु सापकोटा र नरेन्द्र थापालगायत कलाकारहरूको पनि अभिनय रहेको छ।
फिल्मको पटकथा तथा संवाद परिच्छेद सेनले लेखेका हुन् भने कथा गोविन्द फुयाल र शिशिर चालिसेले तयार पारेका छन्। सुलभ प्रतीक देउजा र समिक्षा देउजाको लगानी रहेको यो फिल्म आगामी असोज २ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।




















