काठमाडौं । निर्देशक सञ्जय राईको डेब्यु निर्देशनमा बन्ने फिल्म ‘एक्का मिस्सी बादशाह’ औपचारिक रूपमा घोषणा गरिएको छ। शनिबार निर्देशक राईको जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा निर्माण टिमले फिल्मको घोषणा गर्दै कलाकार तथा प्राविधिक टोली सार्वजनिक गरेको हो।
फिल्मको मुख्य भूमिकामा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह रहनेछिन्। निर्माण पक्षले उनको ‘आश’ पात्रको बोल्ड लुक्स सार्वजनिक गर्दै फिल्ममा उनी साहसिक, निडर र फरक चरित्रमा देखिने जनाएको छ।
करिब दुई वर्षपछि नयाँ फिल्ममार्फत पर्दामा फर्किन लागेकी साम्राज्ञीले आफूलाई मनपर्ने पात्र नपाएकाले अभिनयबाट केही समय टाढा रहेको बताइन्। यसअघि उनी ‘बर एण्ड बधु’ फिल्ममा देखिएकी थिइन्।
उनले ‘एक्का मिस्सी बादशाह’को कथा र आफ्नो पात्र मन परेकै कारण फिल्ममा आबद्ध भएको बताउँदै निर्देशकले प्रस्तुत गरेको दृष्टिकोणले आफूलाई प्रभावित बनाएको प्रतिक्रिया दिइन्।
निर्देशक सञ्जय राईले फिल्म वर्तमान युवापुस्ताको जीवनशैली, प्रेम, मित्रता, सम्बन्ध र जीवनका उतारचढावमा केन्द्रित हुने बताए। उनका अनुसार दुई साथीको जीवनयात्रा, उनीहरूले सामना गर्ने चुनौती र समाज तथा परिवारका अपेक्षाबीचको संघर्षलाई फिल्मले प्रस्तुत गर्नेछ।
फिल्मको ट्यागलाइन ‘कोही जित्छन्, कोही हार्छन्, कोही बादशाह बन्छन्’ राखिएको छ, जसले कथावस्तुको मूल भाव झल्काउने निर्माण पक्षको भनाइ छ।
बेलायतमा बस्दै आएका सञ्जय राईको यो पहिलो निर्देशन हो। उनी लामो समयदेखि चलचित्र निर्माण र निर्देशनमा सक्रिय रुचि राख्दै आएका छन्।
फिल्ममा कार्यकारी निर्माता सुदीप्ता, लाइन प्रोड्युसर एलोन गुरुङ तथा प्रोजेक्ट सुपरभाइजर सुपथ श्रेष्ठ रहेका छन्। चलचित्रको छायांकन आगामी फागुनबाट सुरु गर्ने तयारी गरिएको छ।
निर्माण पक्षले ‘क्रिश’ र ‘अर्जुन’ नामका दुई मुख्य पुरुष पात्रका लागि अडिसन खुला गरिएको जनाएको छ। अन्य कलाकार तथा प्राविधिक विवरण भने आगामी दिनमा सार्वजनिक गरिने बताइएको छ।




















