काठमाडौं । वरिष्ठ कलाकार तथा निर्देशक निर शाहको निर्देशनमा बन्ने नयाँ नेपाली चलचित्र ‘प्रिन्स’ को निर्माण औपचारिक रूपमा सुरु भएको छ। शुक्रबार पहिलो गीतको रेकर्डिङसँगै फिल्मको निर्माण प्रक्रिया अघि बढाइएको हो।
रेड चिल्ली फिन टेक प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मको पहिलो गीतमा निर शाहको शब्द, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाको संगीत र गायक शिव परियारको स्वर रहेको छ।
फिल्मको कथा निर शाह र शिवम अधिकारीले संयुक्त रूपमा तयार गरेका हुन्। पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका छन् भने छायांकन सौरभ लामाले गर्नेछन्। पुष्कर लामा (प्रेम भोम्जन) लाइन प्रोड्युसरको रूपमा आबद्ध छन्।
निर्माण पक्षका अनुसार चलचित्रको छायांकनको तयारी अन्तिम चरणमा पुगेको छ। कलाकार तथा अन्य प्राविधिक टोलीको नाम भने उपयुक्त समयमा सार्वजनिक गरिने जनाएको छ।




















