काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित चलचित्र निर्माण हुने भएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत चलचित्रको औपचारिक घोषणा गरिएको हो। चलचित्रको शीर्षक ‘मदनकृष्ण’ राखिएको छ।
निर्देशक मिलन चाम्सले निर्देशन गर्ने यस चलचित्रमा अभिनेता महेश त्रिपाठीले मदनकृष्ण श्रेष्ठको भूमिका निर्वाह गर्नेछन्। अभिनेत्री केकी अधिकारी मदनकृष्णकी पत्नी यसोधाको भूमिकामा देखिनेछिन्।
चलचित्रमा हरिवंश आचार्य, देशभक्त खनाल, किरण केसी, राजाराम पौडेल र यमन श्रेष्ठलगायत कलाकारहरूको पनि अभिनय रहनेछ।
निर्माता राजकुमार श्रेष्ठ रहेको चलचित्रको कथा तथा पटकथा यम थापाले तयार पारेका हुन्। निर्माण टोलीका अनुसार चलचित्रको छायांकन भदौ महिनादेखि सुरु गरिनेछ।




















