काठमाडौं । अभिनेता जितु नेपाल (मुन्द्रे) को लगानी तथा मुख्य भूमिका रहेको चलचित्र ‘आई एम जितबहादुर’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आउने भएको छ। प्रदर्शनअघि बुधबार काठमाडौंमा आयोजित प्रिमियर शोमा चलचित्रले सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ।
प्रिमियरमा चलचित्र क्षेत्रका अग्रज कलाकार, निर्देशक, निर्माता, गायक तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा मदनकृष्ण श्रेष्ठ, तुलसी घिमिरे, केकी अधिकारी, स्वस्तिमा खड्का, प्रदीप भट्टराई, दीपा श्री निरौला, राजाराम पौडेल, मनोज गजुरेल, नारद खतिवडा, नरेश पौडेल र महेश त्रिपाठीलगायत सहभागी थिए।
त्यस्तै निर्माता नवीन श्रेष्ठ, निर्देशक कपिल रिजाल, कलाकार सीतादेवी तिमल्सिना, निर्माता सुमन गिरी, गायक हेमन्त शर्मा, शिव परियार, रामप्रसाद खनाल, अभिनेता जयकिशन बस्नेत, संजोग कोइराला, आयुष्मान देशराज जोशी तथा ‘कमेडी च्याम्पियन’का कलाकारहरूको पनि उपस्थिति रहेको थियो।
प्रिमियरपछि अधिकांश चलचित्रकर्मीले फिल्मको कथा, प्रस्तुति र विशेषगरी जितु नेपालको अभिनयको प्रशंसा गरेका छन्। दर्शकहरूले चलचित्रले कलाकार बन्ने सपना बोकेको एक सामान्य व्यक्तिको संघर्ष, मेहनत र सफलताको यात्रालाई भावनात्मक र मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरेको प्रतिक्रिया दिएका छन्।
चलचित्रमा जितु नेपालसँगै वर्षा राउत, प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल, सारा शर्मा, अंशु महर्जन, पवन खतिवडा, राजन सिम्खडा र मिसेल घिमिरेलगायत कलाकारहरूको अभिनय रहेको छ।
फिल्मले गाउँमा बस्ने, सरल स्वभावको र अभिनयप्रति ठूलो सपना बोकेको विवाहित युवक जितबहादुरको कथा प्रस्तुत गर्छ। गाउँको सानो नाट्य मञ्चबाट सुरु भएको उसको अभिनय यात्रा, सपना पूरा गर्न भोग्नुपरेका संघर्ष, चुनौती र जीवनका उतारचढावलाई चलचित्रले मार्मिक रूपमा चित्रण गरेको छ।
सुभेन्दु घोष निर्देशित चलचित्रका निर्माता जितु नेपाल हुन्। सह–निर्मातामा राजन सिम्खडा र दीपेन्द्र अधिकारी रहेका छन् भने निश्चल कुँवर र निरज नेपाल कार्यकारी निर्माताका रूपमा रहेका छन्। चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ भने वितरणको जिम्मेवारी आरआर फिल्म्सले सम्हालेको छ।




















