काठमाडौं । चर्चित लोकदोहोरी गायिका विष्णु माझीले लामो समयपछि आफ्नो म्युजिक कम्पनीबाहिरको गीतमा स्वर दिएकी छन्। उनको नयाँ गीत ‘झोर्ले हजुर’ सार्वजनिक भएको छ।
विष्णुले पछिल्ला केही वर्षयता बाहिरी ब्यानरका गीत गाउन छाडेकी थिइन्। उनी वर्षभरि सार्वजनिक कार्यक्रममा पनि कमै देखिने र आफ्नै सपना म्युजिक इन्डस्ट्रिजमार्फत तीज तथा दशैँका अवसरमा मात्रै गीत ल्याउने गर्थिन्। तर यसपटक भने तीजअघि नै फरक शैलीको गीतमार्फत श्रोतामाझ फर्किएकी छन्।
सार्वजनिक गीतमा विष्णुसँगै गायक बाबुकृष्ण परियारको स्वर रहेको छ। गीतमा रमेश बिजी को शब्द तथा बाबुकृष्णकै संगीत रहेको छ। संगीत संयोजन श्यामश्वेत रसाइली ले गरेका हुन्।
मगर समुदायमा अभिवादनका रूपमा प्रयोग हुने ‘झोर्ले’ शब्दलाई मुख्य बिम्ब बनाएर गीत तयार गरिएको छ। गीतको भिडियोमा गायक बाबुकृष्णसँगै सुजैन सिंह खड्का को अभिनय तथा नृत्य देख्न सकिन्छ।
भिडिओको निर्देशन तथा कोरियोग्राफी मौसम हिमाली ले गरेका छन्। छायांकन बुद्ध थापा र सम्पादन अमृत चापागाईं ले गरेका हुन्।
विष्णु माझीको लामो अन्तरालपछि बाहिरी ब्यानरमा आएको यो गीतले उनका प्रशंसकमाझ विशेष चासो पाएको छ।




















