काठमाडौँ । निर्देशक राजबहादुर सानेको नयाँ फिल्म ‘लज्जावती’ आगामी साउन २९ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले फिल्मको प्रदर्शन मिति घोषणा गर्दै नयाँ पोस्टरसमेत सार्वजनिक गरेको छ।
हालसम्म साउन २९ गतेका लागि कुनै नेपाली फिल्मले आधिकारिक रूपमा प्रदर्शन मिति घोषणा नगरेकाले ‘लज्जावती’ एक्लै प्रदर्शनमा आउने सम्भावना देखिएको छ।
गत साता काठमाडौंको धर्मस्थलीस्थित एक घरमा छायांकन सम्पन्न गर्दै ४५ दिनमा फिल्मको इन्डक्ल्याप गरिएको निर्माण पक्षले जनाएको छ।
सार्वजनिक पोस्टरमा मुख्य अभिनेता मुकुन भुसाल निकै फरक भूमिकामा देखिएका छन्। पोस्टरमा उनी बच्चा बोकेकी सुत्केरी महिलाको अवतारमा प्रस्तुत भएका छन्, जसले फिल्मप्रति दर्शकको उत्सुकता बढाएको छ।
आहा फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता सौरभ वली हुन् भने कमलप्रसाद शर्मा र सन्दीपकुमार रोकाया निर्माता रहेका छन्। दिनेशराज बुढाथोकी कार्यकारी निर्माता रहेको फिल्ममा दिव्यराज सुवेदीको छायांकन रहेको छ।
फिल्ममा मुकुन भुसाल, श्रीकृष्ण निरौला, मेनुका माझी, जानुका विश्वकर्मा, केशव रिजाल, धिरेन शाक्य, प्रिया रिजाल, हिउवाला गौतम, रामहरी खड्का, विनोद श्रेष्ठ, दीपक थापा र काजल भुजेललगायत कलाकारको अभिनय रहेको छ।
तारा थापा ‘किम्भे’को सम्पादन तथा देव महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्मलाई देशव्यापी रूपमा कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ।




















