काठमाडौँ । यस वर्ष २०८३ सालमा हालसम्म प्रदर्शन भएका चलचित्रमध्ये सबैभन्दा बढी कमाई चलचित्र ‘लालीबजार’ले गरेको छ ।
चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत जेठ १६ गते शनिबारसम्म उक्त चलचित्रले आठ करोड हाराहारीको कमाइ गरेको छ । बोर्डअन्तर्गतको ‘सिनेपा–२ बक्सअफिस’ मा उल्लेख भए अनुसार गत शनिबारसम्म चलचित्र ‘लालीबजार’ ले रु सात करोड ९० लाख ३१ हजार ४७६ कमाई गरेको छ ।
अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको नेपाली चलचित्र ‘लालीबजार’ को सोही अवधिमा कूल एक लाख ९६ हजार ४०६ टिकट बिक्री भएका छन् । गत वैशाख २५ गतेदेखि नेपालभरका चलचित्र भवनमा प्रदर्शनमा आएको उक्त चलचित्रले घरेलु बजारमा पाएको सफलताले चलचित्रसँग जोडिएको सम्पूर्ण सदस्यलाई उत्साहित बनाएको अभिनेता रवीन्द्रसिंह बानियाँले बताए ।
उनले भने, “हामीले दर्शकबाट पाएको मायाले मेहनतको फल पाएको आभाष भएको छ । यसपटक हामीले सामाजिक दायित्वका रुपमा मनोरञ्जनसँगै शिक्षाको ज्योतिले समाज र व्यक्तिमा पार्ने प्रभावलाई देखाएका थियौँ, जसलाई दर्शकले रुचाउनुभयो । यो चलचित्रले शिक्षा नभई जीवन उज्यालो हुन सक्दैन भन्ने सन्देश प्रवाह गर्छ ।” उनका अनुसार नेपालभर नै विषयवस्तु, निर्देशकीय पक्ष, कलाकारको जीवन्त अभिनयलाई दर्शकले मुक्तकण्ठले तारिफ गरेका छन् ।
उक्त चलचित्रमा अभिनेता बानियाँसँगै समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, विशाल देवकोटा, प्रसंशा सुवेदीलगायतका कलाकारको अभिनय रहेको छ । यस्तै, गत वैशाख ११ गते प्रदर्शन भएको चलचित्र ‘परालको आगो’ ले रु चार करोड २७ लाख ८४ हजार ४४५ कमाई गरेको छ । सुशील पोखरेलले निर्माण गर्नुभएको उक्त चलचित्रका लागी कुल एक लाख ५४ हजार ३४ टिकट बिक्री भएका छन् । रासस




















