काठमाडौँ । निर्देशक वसन्त निरौलाको निर्देशनमा निर्माण भइरहेको फिल्म पाँच पाण्डवको छायांकन सम्पन्न भएको छ। चैत २ गतेबाट सुरु गरिएको छायांकन ६६ दिनमा सकिएको निर्माण टिमले जनाएको छ।
छायांकन सम्पन्न भएको अवसरमा निर्माण टिमले ‘इन्ड क्ल्याप’ लेखिएको केक काटेर उत्सव मनाएको थियो। निर्देशक निरौलाले चलचित्र निर्माणमा कुनै सम्झौता नगरी काम गरिएको बताउँदै यसको प्रभाव पर्दामा पनि देखिने दाबी गरे।
काली रानी फिल्म्सको ब्यानरमा निर्माण भइरहेको यस फिल्ममा नेपाली फिल्म क्षेत्रका वरिष्ठ तथा नयाँ पुस्ताका चर्चित कलाकारहरूको अभिनय रहनेछ। चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला मुख्य ‘पाँच पाण्डव’को भूमिकामा देखिनेछन्।
त्यस्तै, दीपाश्री निरौला, सरिता गिरी, बिनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार र इभा गिरी लगायत कलाकारको पनि अभिनय रहेको छ।
फिल्मका लेखक सुशील पौडेलका अनुसार चलचित्र सामाजिक कथावस्तुमा आधारित छ। महाभारतका पाँच पाण्डवको चरित्र र प्रतीकलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गरिएको उनले बताए।
चलचित्रका अधिकांश दृश्य झापाका विभिन्न रमणीय तथा महत्वपूर्ण स्थानमा खिचिएको निर्माण पक्षले जनाएको छ। कथा, पटकथा र संवाद सुशील पौडेलकै रहेको फिल्मलाई श्याम तामाङले खिचेका हुन्।
फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठले यसअघि चलचित्र लाज शरणम् निर्माण गरेका थिए।




















