काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको ‘हामी कम्युनिष्ट होइनौँ’ भन्ने अभिव्यक्तिले वर्तमान सरकारको वास्तविक चरित्र उजागर भएको टिप्पणी गरेका छन्।
सचिव बस्नेतले सामाजिक सञ्जालमार्फत सरकारमाथि तीव्र आलोचना गर्दै सत्तामा आएदेखि संविधान, कानुन, न्यायालय र संसदीय व्यवस्थामाथि हस्तक्षेप भइरहेको आरोप लगाए।
उनले प्रधानमन्त्रीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा संसद्मा देखाएको व्यवहारले सरकारको सोच, शैली र संस्कार थप प्रष्ट भएको दाबी गरेका छन्।
बस्नेतले सरकार गरिब, श्रमिक, सुकुम्बासी, दलित, विद्यार्थी, शिक्षक तथा मजदुरविरुद्ध उभिएको आरोप लगाउँदै जनताको आवाज दबाउने, विस्थापनलाई प्रोत्साहन गर्ने र असहमति उठ्नेबित्तिकै दमनमा उत्रिने प्रवृत्ति कम्युनिष्ट विचारसँग मेल नखाने बताएका छन्।
‘कम्युनिष्ट हुनु भनेको श्रमको सम्मान गर्नु, उत्पीडितको पक्षमा उभिनु र जनताको अधिकारको रक्षा गर्नु हो,’ उनले लेखेका छन्, ‘तर अहिले राज्य संयन्त्रलाई प्रतिशोधको हतियार बनाइएको छ।’
बस्नेतले वर्तमान शासनशैलीलाई ‘पपुलिष्टहरूको नांगो जनविरोधी सर्वसत्तावादी प्रवृत्ति’को संज्ञा दिएका छन्। साथै, आफूलाई ‘लिबरल डेमोक्रेट’ भन्नेहरूले लोकतान्त्रिक मूल्यमान्यताको पालन गर्न नसकेको आरोपसमेत उनले लगाएका छन्।
उनले वास्तविक उदार लोकतन्त्रमा राज्य जनताप्रति उत्तरदायी हुने, कमजोर वर्गको संरक्षण गरिने र असहमतिलाई संवादमार्फत सम्बोधन गरिने उल्लेख गर्दै नागरिकमाथि दमन गरेर कुनै शासन उदारवादी हुन नसक्ने टिप्पणी गरेका छन्।
बस्नेतले अन्ततः जनताको भावना, अधिकार र अस्तित्वविरुद्ध उभिएको सत्ता जनताबाटै अस्वीकृत हुने दाबी गरेका छन्।
सचिव बस्नेतले लेखेक छन् –
हामी कम्युनिष्ट होइनौँ” , हिजो अर्थमन्त्री डा स्वर्णिम वाग्लेजीले दिएको अभिव्यक्तिले यो सरकारको असली चरित्र अझ प्रष्ट गरिदियो।
सत्ता सम्हालेको पहिलो दिनदेखि नै संविधानमाथि धावा बोल्ने, कानुनमाथि हस्तक्षेप गर्ने, न्यायालयमाथि दबाब सिर्जना गर्ने र स्थापित संसदीय प्रणालीलाई खिल्ली बनाउने काम किन भइरहेको थियो भन्ने कुरा अब बुझ्न गाह्रो रहेन।
झन् सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रधानमन्त्रीले सदनमा देखाएको गैरजिम्मेवार रबैयाले सरकारको सोच, शैली र संस्कारलाई झनै उदाङ्गो बनायो।
त्यस्तै गरिब, श्रमिक, सुकुम्बासी, दलित, विद्यार्थी, शिक्षक र मजदुरमाथि किन निरन्तर प्रहार भइरहेको छ। जनताको पीडा नदेख्ने, विकासभन्दा विस्थापनमा रमाउने, अधिकारको आवाज उठ्ने बित्तिकै दमनमा उत्रिने शक्ति कुनै कम्युनिष्ट शक्ति हुन सक्दैन।
कम्युनिष्ट हुनु भनेको श्रमको सम्मान गर्नु हो, उत्पीडितको पक्षमा उभिनु हो, जनताको आशा र अधिकारको रक्षक बन्नु हो।
तर यहाँ त जनतामाथि डोजर चलाइन्छ, युवाको भविष्य थुनिन्छ, श्रमिकको आवाज दबाइन्छ र राज्य संयन्त्रलाई प्रतिशोधको हतियार बनाइन्छ। यो कम्युनिष्ट चरित्र होइन, यो त पपुलिष्टहरुको नांगो जनविरोधी सर्वसत्ता बादी प्रवृत्ति हो।
अझ रमाइलो त के छ भने, उनीहरू आफूलाई “लिबरल डेमोक्रेट” भन्न थालेका छन्। तर वास्तविक लिबरल डेमोक्रेसीमा राज्य जनताप्रति उत्तरदायी हुन्छ।
कमजोर वर्गको संरक्षण गरिन्छ, असहमतिलाई दमन होइन संवादमार्फत सम्बोधन गरिन्छ। नागरिकको घर भत्काएर, आवाज थुनेर र राज्य शक्तिलाई भय सिर्जनाको साधन बनाएर कुनै शासन “लिबरल” बन्न सक्दैन।
अफुले नै जे दाबि गरे पनि अन्ततः उनेहरुको चरित्रले नै चिनाउँछ। जनताको भावना, अधिकार र अस्तित्वमाथि उभिएको सत्ता अन्ततः जनताबाटै अस्वीकृत हुन्छ।




















