काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ।
शुक्रबार शीतल निवासमा आयोजित कार्यक्रममा महालेखापरीक्षक तोयम रायाले राष्ट्रपति पौडेलसमक्ष प्रतिवेदन बुझाएका हुन्।
प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले सरकारी खर्चमा वर्षेनि बढ्दै गएको बेरुजुले सार्वजनिक निकायको जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन कमजोर बन्दै गएको संकेत गरेको बताए।
‘बेरुजु फर्छ्यौट गरी वित्तीय अनुशासन कायम गर्ने दिशातर्फ सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जिम्मेवार र जवाफदेही हुनुपर्ने देखिन्छ,’ उनले भने।
राष्ट्रपति पौडेलले अनियमित सरकारी खर्च नियन्त्रण गर्दै आर्थिक अनुशासन कायम गर्न सके मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिप्रतिको युवापुस्ताको आकांक्षा पूरा हुने विश्वास व्यक्त गरे।
प्रतिवेदनमा उठाइएका विषयले सम्बन्धित निकाय र सरोकारवालाहरूलाई थप जिम्मेवार बनाउने उनको भनाइ थियो। साथै, आर्थिक अनुशासन, पारदर्शिता र जवाफदेहितालाई मजबुत बनाउन महालेखापरीक्षकको कार्यालयको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै संस्थागत सक्षमता, पेशागत क्षमता अभिवृद्धि तथा आन्तरिक सुशासन सुदृढ गर्न कार्यालय अझ सक्रिय हुनुपर्नेमा उनले जोड दिए।




















