आज मात्र १२ घण्टा !!! ५ बर्षमा ??? संसदीय अभ्यास भन्दैमा बेलायतको हुबहु ‘फोटोकपी’ नै गर्नुपर्छ भन्ने छ र ? अलि फरक तरिकाले सोचौँ न ।
भारतमा साँझ ५ बज्दा बेलायतमा बिहानको करिब ११ बज्दो रहेछ । बेलायतले आफ्नो कार्यालय समयमा आनन्दले भारतको बजेट सुन्न मिलोस् भनेर त्यस्तो समय मिलाएको रहेछ । पछि, प्रधानमन्त्री वाजपेयीले यो परिपाटी पूर्ण रूपमा परिवर्तन गरिदिए र साँझको सट्टा बिहान बजेट ल्याउन थालियो । कल्पना गर्नुस्, यति सामान्य कुरा बुझ्न पनि भारतलाई बेलायती शासनबाट मुक्त भए पछि पनि ५२ वर्ष लाग्यो । ५२ वर्षसम्म भारतले आफ्नो सामान्य विवेक समेत प्रयोग गरेन; जे छ त्यसैलाई सहेर बस्यो । एक हिसाबले मानसिक हत्कढी लगाएर बस्यो । कसैले फरक ढंगले सोचेन र ‘यस्तै हो, यस्तै चल्नुपर्छ’ भन्ने मानसिकता हाबी रह्यो ।
मैले यसअघि जहाँ काम गर्दा पनि कहिल्यै यति लामा बैठकहरू गरेको थिइनँ—बढीमा २ घण्टा । तर राजनीतिमा लागेपछि बैठकै-बैठक, गफ र भाषणको ओइरो लाग्ने तर काम भने निकै कम हुने देखियो । गफ- भाषण र खानेपानीको समस्याको समाधान कुन ठाउमा गएर मिल्छ? अलिअलि बोल्नु त ठीकै हो, तर हाम्रो पूरै प्रणाली नै भाषण, बोली र तालीमा अड्किएको छ ।
आज संसदमा नीति तथा कार्यक्रममाथि छलफल भयो । बिहान ११ बजे सुरु भएको बैठक राति करिब ११ बज्दा बल्ल सकियो । सबैजना हाई-हाई गर्दै पट्यारलाग्दो अवस्थामा पुगिसकेका छन्; शारीरिक र मानसिक रूपमा सबै थाकेका देखिन्छन् । नीति तथा कार्यक्रममा जम्मा १०० बुँदा छन्, जुन छोटकरीमा राख्दा करिब २० पेज मात्र हुन्छ । यदि यो काम वैज्ञानिक ढंगले गर्ने हो भने अहिलेको भन्दा निकै कम समयमा अझ बलियो नीति तथा कार्यक्रम ल्याउन सकिन्छ ।
प्रतिपक्षको कडा भन्दा कडा आपत्तिलाई पनि विश्वभरका अनुसन्धानका आधार (Research Papers) प्रस्तुत गरेर वैज्ञानिक ढङ्गले निकै छोटो समयमा सुल्झाउन सकिन्छ ।
यो बेलायतबाट आएको परम्परागत संसदीय अभ्यास वर्तमान युगमा कुनै पनि कोणबाट वैज्ञानिक छैन । परम्परा भन्दै चुप लागेर नबसौँ ।
मैले आज धेरै सांसदहरूलाई सोधेँ, तर यसको चित्तबुझ्दो उत्तर कसैसँग रैनछ । धेरैको सुझाव यस्तो थियो— बोल्ने क्रममा ‘प्रिजेन्टेसन स्क्रिन’ राखौँ, नीति तथा कार्यक्रम सार्वजनिक नै हुन्छ, त्यसलाई ‘गुगल डक्स’ जस्ता प्लेटफर्ममा राखेर अनलाइनमै सबैको सुझाव लिऊँ । प्रजातन्त्र र विज्ञानमा प्रतिपक्ष नै आधार स्तम्भ हो । सुझाव पछि, हरेक बुँदामा ठुलो गोलो टेबुलमा बसेर ‘रिसर्च पेपर’मा जस्तै गहन बहस गरौँ । यसो गर्दा आफ्नो सुझाव किन समेटिएन भन्ने विषयमा पनि छलफल हुन्छ र प्रक्रिया थप खुला, स्वच्छ र पारदर्शी बन्छ । प्रजातन्त्र निकै बलियो बन्छ ।
हामीले विश्व इतिहासमै दुर्लभ रेकर्ड राख्ने युवा प्रधानमन्त्री पाएका छौँ । अब संसदीय अभ्यासलाई पनि—प्रजातन्त्रका आधारभूत खम्बाहरूको पूर्ण रक्षा गर्दै—वैज्ञानिक बनाएर विश्वलाई नै केही नयाँ सिकाउन सकिन्छ कि?
जे छ, त्यसलाई नै अकाट्य सत्य मान्नुपर्छ भन्ने छैन—चाहे त्यो सयौँ वर्ष पुरानो होस् या ५ वर्ष । म आफै बेलायतमै पढेको भन्दैमा बेलायतकै ‘धङधङी’ दिमागमा राखेर संसदमा बस्नुपर्छ भन्ने छैन । सधैँ पश्चिमा दृष्टिकोण मात्र बोक्नुपर्छ भन्ने पनि छैन ।
अबको युग एसियाको युग हो र एसियाले बाँकी विश्वलाई सिकाउने सामर्थ्य राख्छ ।बेलायतबाट सिक्ने मात्र होइन अब बेलायतलाई पनि सिकाउन सक्नुपर्छ ।
भारतलाई सामान्य विवेक प्रयोग गर्न ५२ वर्ष लाग्यो, हामीलाई परम्पराको नाममा बसेको मानसिक हत्कडी हटाउन वा सुधार्न कति लाग्ने हो, त्यो हेर्न भने बाँकी छ ।
(रास्वपाका सांसद ढकालले फेसवुकमा लेखेको स्टाटस)




















