काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीभित्र कुनै पनि कार्यकर्तालाई प्रक्रियागत कारण देखाएर बाहिर निकाल्ने काम गर्न नहुने बताएका छन्।
बिहीबार बाँसबारीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले आफूहरू भागबन्डा वा पदको मागमा नभई १५औँ महाधिवेशनको निष्पक्षता र सुनिश्चितताको पक्षमा रहेको स्पष्ट पारे।
क्रियाशील सदस्यता अध्यावधिकको समयसीमा सकिन लागेका बेला बोल्दै महतले सदस्यता प्रणालीलाई डिजिटल बनाउने विषयमा आफूहरूको कुनै असहमति नरहेको बताए। तर, विगतमा सदस्यता नवीकरण गरिसकेका कार्यकर्ताहरूलाई प्रक्रियागत जटिलता देखाएर सदस्यताबाट वञ्चित गर्न नहुने उनको भनाइ थियो।
‘पहिले नै सदस्यता नवीकरण गरेका साथीहरूलाई डिजिटल प्रणालीमा ल्याउने विषयमा हाम्रो कुनै आपत्ति छैन। तर, पार्टीमा लामो समयदेखि योगदान दिएका कार्यकर्तालाई प्रक्रियाको नाममा बाहिर निकाल्ने काम हुनु हुँदैन,’ उनले भने।
महतले सदस्यता डिजिटलाइजेसन केन्द्रले सञ्चालन गरिरहेको प्रक्रिया भएको उल्लेख गर्दै पार्टी एकतालाई कमजोर बनाउने कुनै उद्देश्य आफूहरूको नरहेको बताए। आफूहरू पार्टी विभाजन वा अलग बाटो रोज्ने पक्षमा नभएको उनको भनाइ थियो।
उनले विशेष महाधिवेशनमार्फत आएको वर्तमान नेतृत्व सीमित अवधिका लागि भएकाले यही समयमा भ्रातृ तथा शुभेच्छुक संस्थाहरूमा नेतृत्व चयन वा विधान संशोधनजस्ता महत्वपूर्ण निर्णय उपयुक्त नहुने धारणा राखे।
महतले १५औँ महाधिवेशनलाई निष्पक्ष, विश्वसनीय र सर्वस्वीकार्य बनाउनु नै आफूहरूको मुख्य चासो रहेको बताए।
यसैबीच नेपाली कांग्रेसले सदस्यता अध्यावधिक गर्न बाँकी रहेका सबै क्रियाशील सदस्यलाई तोकिएको समयभित्र प्रक्रिया पूरा गर्न आग्रह गरेको छ। पार्टीका अनुसार क्रियाशील सदस्यता अध्यावधिकका लागि योग्य ७ लाख ८२ हजार २०९ सदस्यमध्ये जेठ २७ गते साँझसम्म ४ लाख ५७ हजार ३६६ जनाले एसीआईडी प्राप्त गरिसकेका छन् भने थप १ लाख २४ हजार ७४८ जनाले अध्यावधिक फाराम बुझाएर प्रक्रियामा सहभागी भइसकेका छन्।




















