काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनयोग्य नभएको टिप्पणी गरेका छन्। प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेटलाई ‘फुलेको बेलुन’को संज्ञा दिँदै यसले गरिब, किसान र बेरोजगार युवाको समस्या समाधान गर्न नसक्ने बताएका हुन्।
सिंहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेप्रति कटाक्ष गर्दै बजेटमा केही सकारात्मक पक्ष भए पनि समग्र रूपमा यसले जनताको अपेक्षा सम्बोधन गर्न नसकेको बताए। व्यक्तिगत आयकरको सीमा वृद्धि, स्टार्टअप तथा सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिनुलाई उनले सकारात्मक पक्षका रूपमा उल्लेख गरे।
तर शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाइनु संविधानको भावना विपरीत भएको उनको तर्क थियो। संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गरेकाले त्यस्ता क्षेत्रमा कर लगाउनु नागरिकमाथिको अतिरिक्त भार भएको उनले बताए।
उनले सार्वजनिक शिक्षा र स्वास्थ्य प्रणालीलाई सुदृढ नगरी निजी क्षेत्रमार्फत सेवा लिने नागरिकमाथि कर थोपर्नु उचित नभएको धारणा राखे। साथै देशभर गुणस्तरीय विद्यालय विस्तार गर्ने अपेक्षा बजेटमा पूरा नभएको गुनासो पनि गरे।
सिंहले किसानले उत्पादन गरेको कृषि उपजको उचित मूल्य नपाउने समस्या बजेटले सम्बोधन गर्न नसकेको बताए। गाउँमा किसानले न्यून मूल्यमा बिक्री गर्ने तरकारी उपभोक्ताले महँगो मूल्यमा खरिद गर्नुपर्ने अवस्थालाई अन्त्य गर्ने ठोस योजना बजेटमा नदेखिएको उनको भनाइ थियो।
उनले बेरोजगारी र उत्पादनको कमीलाई नेपालको प्रमुख चुनौतीका रूपमा उल्लेख गर्दै युवालाई रोजगारी दिने तथा उत्पादन वृद्धि गर्ने स्पष्ट रणनीति बजेटमा अभाव रहेको बताए। वैदेशिक रोजगारी र रेमिट्यान्समा अत्यधिक निर्भर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने दिशामा पर्याप्त पहल नदेखिएको उनको टिप्पणी थियो।
सिंहले बजेटको आकारमाथि पनि प्रश्न उठाउँदै नेपालको अर्थतन्त्रको क्षमताभन्दा ठूलो बजेट ल्याइएको दाबी गरे। ठूलो राजस्व घाटा र ऋणको भार बढ्दै गएको अवस्थामा सरकारले पुरानो ऋण तिर्न नयाँ ऋण लिने प्रवृत्ति अपनाएको आरोप लगाए।
‘यो बजेट फुलेको बेलुनजस्तै हो, धेरै समय टिक्दैन,’ उनले भने, ‘यस्तो बजेट पूर्ण रूपमा कार्यान्वयन हुन्छ भन्ने विश्वास मलाई छैन।’
उनले पुँजीगत खर्च न्यून रहेको अवस्थामा विकास, रोजगारी सिर्जना र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न कठिन हुने उल्लेख गर्दै विगतका बजेटझैँ यो बजेट पनि अपेक्षाअनुसार परिणाम दिन नसक्ने आशंका व्यक्त गरे।




















