काठमाडौं । व्यवसायी दीपक भट्टलाई कम्तीमा ६ वर्षको कैद सजायसहित ४२ करोड रुपैयाँभन्दा बढी बिगो असुल गर्न माग गर्दै सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता प्रक्रिया अघि बढाएको छ। बैंकिङ कसुरसम्बन्धी अनुसन्धानबाट संकलित प्रमाणका आधारमा भट्टविरुद्ध अभियोगपत्र तयार गरी अदालतमा पेश गर्ने प्रक्रिया अघि बढाइएको हो।
सरकारी वकिलको कार्यालयले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ऋण सुविधा लिने क्रममा झुट्टा विवरण, नक्कली तथा भ्रामक कागजात र वास्तविक आर्थिक अवस्था लुकाएर बैंकलाई भ्रममा पारी ठूलो रकमको कर्जा लिएको आरोप लगाएको छ। अभियोगपत्रमा बैंकिङ कसुर तथा सजायसम्बन्धी प्रचलित कानुनअनुसार कैद, बिगो असुल तथा जरिवानाको माग गरिएको उल्लेख छ।
अनुसन्धानका क्रममा बैंकबाट प्राप्त ऋणसम्बन्धी कागजात, कम्पनीका वित्तीय विवरण, कारोबारका अभिलेख, धितोसम्बन्धी विवरण, विद्युतीय प्रमाण तथा अन्य कागजातहरूलाई प्रमाणका रूपमा समावेश गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ। ती प्रमाणहरूको विश्लेषणपछि भट्टले बैंकलाई वास्तविक अवस्था लुकाई आर्थिक लाभ लिएको निष्कर्षसहित मुद्दा दायरको प्रक्रिया अघि बढाइएको अभियोगपत्रमा उल्लेख छ।
अभियोगपत्रअनुसार भट्टसँग सम्बन्धित विभिन्न कम्पनी र कारोबारको समेत विस्तृत अनुसन्धान गरिएको थियो। अनुसन्धानका क्रममा बैंकबाट प्रवाह भएको ऋण, त्यसको उपयोग, कम्पनीहरूको वित्तीय अवस्था, कागजातको विश्वसनीयता तथा विभिन्न व्यक्तिको संलग्नताबारे समेत विवरण संकलन गरिएको छ। सरकारी वकिलको कार्यालयले ती सबै प्रमाणको मूल्याङ्कनपछि अभियोग दर्ता गर्ने निर्णय गरेको जनाएको छ।




















