काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरेका छन्। आफ्नो जिम्मेवारी पूरा गर्न असफल भएको भन्दै उनले नैतिकताको आधारमा प्रधानमन्त्रीले पद छाड्नुपर्ने बताएका हुन्।
शुक्रबार बिहान जारी गरिएको विज्ञप्तिमा साम्पाङले प्रधानमन्त्री शाहले पदमा बसिरहने नैतिक आधार गुमाइसकेको दाबी गरेका छन्। उनले राजीनामा माग गर्नुका चार प्रमुख कारणसमेत उल्लेख गरेका छन्।
साम्पाङका अनुसार प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेल मार्फत नीति तथा कार्यक्रम प्रस्तुत गराएर स्वयं संसद्बाट बाहिरिनु, नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी नहुनु, प्रतिपक्षले उपस्थितिको माग गर्दा पनि संसद्मा नजानु तथा उठेका प्रश्नहरूको जवाफ नदिनु गैरजिम्मेवार प्रवृत्ति हो।
त्यस्तै, संसद्बाट जनतालाई सम्बोधन नगरेको, लोकतान्त्रिक मूल्यलाई बेवास्ता गरेको तथा संसद् छलेर अध्यादेशमार्फत शासन चलाउन खोजेको आरोप पनि उनले लगाएका छन्।
‘जनताको सार्वभौम संसद्लाई अपमान गर्ने प्रधानमन्त्री कुन नैतिकताका आधारमा पदमा बसिरहेका छन्?’ भन्दै साम्पाङले प्रश्न गरेका छन्। उनले जनताका प्रश्नको सामना गर्न नसक्ने र लुकेर बस्ने प्रवृत्तिले लोकतन्त्र कमजोर बनाउने टिप्पणी गरेका छन्।





















