काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण, नवीकरण तथा अद्यावधिक कार्य आगामी जेठ २१ गतेभित्र अनिवार्य रूपमा सम्पन्न गर्न मातहत तहलाई निर्देशन दिएको छ।
ललितपुरस्थित बी.पी. स्मृति भवनमा बिहीबार बसेको पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो। बैठक पार्टीका महामन्त्री तथा समितिका संयोजक प्रदीप पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो।
बैठकले सदस्यता अभिलेखीकरणलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्दै कांग्रेसलाई सबैभन्दा बलियो सदस्य नेटवर्क भएको पार्टी बनाउने उद्देश्य राखिएको जनाएको छ।
अब प्रत्येक क्रियाशील सदस्यले आफ्नै मोबाइलमार्फत अनलाइन फारम भरेर सदस्यता अद्यावधिक गर्न सक्ने व्यवस्था गरिएको समितिले जनाएको छ। यसका लागि पार्टीको सदस्यता पोर्टलमा ‘स्वयं सदस्यता आवेदन फारम’ उपलब्ध गराइएको छ।
अनलाइन प्रक्रिया पूरा गर्दा समस्या आएमा ९७०१२५५५५५ नम्बरमा सम्पर्क गरी एआई सहायतामार्फत सहयोग लिन सकिने व्यवस्था गरिएको कांग्रेसले जनाएको छ। साथै, केन्द्रीय कार्यालयको डिजिटल सहायता केन्द्रमार्फत पनि समस्या समाधान गर्न सकिने बताइएको छ।
उक्त नम्बरमा फोन गरेर सोधिने प्रश्नहरूको उत्तर दिँदै फोनबाटै सदस्यता अद्यावधिक फारम भर्न सकिने सुविधा पनि उपलब्ध गराइएको समितिले जनाएको छ। विदेशस्थित नेपाली जनसम्पर्क समिति हरूका लागि समेत ‘स्वयं सदस्यता आवेदन फारम’ उपलब्ध गराइएको छ।
समितिले सदस्यता अद्यावधिक नगर्ने तथा कांग्रेस परिचयपत्र (एनसी आईडी) प्राप्त नगर्ने व्यक्तिले पार्टीको १५औँ महाधिवेशन प्रक्रियामा सहभागी हुन नपाउने विधानमा व्यवस्था रहेको उल्लेख गर्दै निर्धारित समयभित्रै प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।




















