काठमाडौं । चलचित्र लालीबजार विरुद्ध माइतीघर मण्डलमा बादी समुदायले प्रदर्शन गरेका छन्।
आइतबार आयोजित प्रदर्शनमा सहभागी बादी समुदायका प्रतिनिधिहरूले आफ्नो समुदायको मानमर्दन र चरित्र हत्या हुनेगरी चलचित्र निर्माण गरिएको आरोप लगाएका हुन्।
प्रदर्शनकारीहरूले बादी समुदायको इतिहास र पहिचानलाई बङ्ग्याएर समाजमा नकारात्मक भ्रम फैलाउने प्रयास गरिएको भन्दै चलचित्रको निर्माण तथा प्रदर्शन तत्काल रोक्न माग गरेका छन्।
अधिकारकर्मी तथा समुदायका सदस्यहरूले “बादी जातिको सम्मान कायम गर”, “लालीबजार चलचित्र बन्द गर” लगायतका नारा लेखिएका ब्यानर र प्लेकार्ड प्रदर्शन गरेका थिए।
उनीहरूका अनुसार चलचित्रमा प्रयोग गरिएका केही दृश्यले समुदायको सामाजिक छवि र नैतिकतामाथि प्रहार गरेको छ। त्यसैले सम्बन्धित निकायले तत्काल हस्तक्षेप गरी समुदायको सम्मान र अधिकारको संरक्षण गर्नुपर्ने उनीहरूको माग छ।




















