काठमाडौं । चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले आगामी २२ वैशाखसम्म फिल्म प्रदर्शन नगर्न आदेश दिएको हो। यसअघि फिल्म वैशाख १८ गते प्रदर्शनमा आउने तय भएको थियो।
वादी समुदायको तर्फबाट रोशनी नेपालीले फिल्मका केही शब्दप्रति आपत्ति जनाउँदै रिट दायर गरेकी थिइन्। सोही रिटमाथि सुनुवाइ गर्दै अदालतले अस्थायी रोक लगाएको हो।
यम थापा निर्देशित तथा षट्कोण आर्ट्सद्वारा निर्मित ‘लालीबजार’ वादी समुदायका महिलाको संघर्षमा आधारित कथा हो।
यद्यपि, केन्द्रीय चलचित्र जाँच समितिले यसअघि नै फिल्मलाई ‘युनिभर्सल’ प्रमाणपत्र प्रदान गरिसकेको थियो।
सोमबार निर्माण टिमले आयोजना गरेको पत्रकार सम्मेलनमा वादी समुदायका प्रतिनिधिहरूले फिल्मले आफ्नो समुदायको यथार्थ चित्रण गरेको बताएका छन्। केही आपत्तिजनक शब्दहरू हटाएपछि फिल्मप्रति आपत्ति नरहेको उनीहरूको भनाइ छ।
वादी समुदायकी देवीसरा वादी, हिक्मत वादीलगायतले फिल्मले समुदायको संघर्ष र अधिकारका लागि लडाइँलाई सकारात्मक रूपमा प्रस्तुत गरेको बताएका थिए । उनीहरूका अनुसार फिल्मले कुनै पनि समुदायको भावना आहत गर्ने आशय राख्दैन।
यसैबीच, नेपाल चलचित्र निर्माता संघले पनि सोमबार विज्ञप्ति जारी गर्दै प्रदर्शनको तयारीमा रहेको फिल्मलाई रोक लगाइँदा समग्र फिल्म उद्योग प्रभावित हुने जनाएको थियो ।
संघले फिल्म केवल मनोरञ्जनको माध्यम मात्र नभई अभिव्यक्ति स्वतन्त्रताको सशक्त माध्यम भएको उल्लेख गर्दै वैधानिक निकायबाट अनुमति पाइसकेको फिल्ममाथि अवरोध सिर्जना हुनु चिन्ताजनक रहेको जनाएको छ।
अदालतप्रति सम्मान व्यक्त गर्दै संघले ‘लालीबजार’ को निर्बाध प्रदर्शनका लागि आवश्यक वातावरण बनाउन सम्बन्धित पक्षसँग आग्रह गरेको थियो ।




















