काठमाडौं । आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म परालको आगोको अग्रिम टिकट बुकिङ खुला गरिएको छ। सोमबारदेखि केही हलमा सुरु भएको बुकिङ बुधबार बिहानदेखि देशभर उच्च उत्साहका साथ विस्तार गरिएको हो।
फिल्मले हालसम्म देशव्यापी रूपमा सयभन्दा बढी शो प्राप्त गरिसकेको छ भने बिहीबारसम्ममा शो संख्या अझ बढ्ने अपेक्षा गरिएको छ। युनिभर्सल सर्टिफिकेट पाएको फिल्मको रनटाइम १३५ मिनेट रहेको छ।
गुरु प्रसाद मैनालीको चर्चित कृति ‘परालको आगो’बाट प्रेरित यस फिल्मले ट्रेलर र गीतमार्फत दर्शकमाझ राम्रो चर्चा बटुलेको छ, जसका कारण अग्रिम बुकिङमा पनि उत्साह देखिएको हो।
फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँलगायतको अभिनय रहेको छ।
हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको फिल्ममा सुशील पोखरेलको लगानी रहेको छ। यसको पटकथा तथा संवाद सुशील देवकोटाले तयार पारेका हुन् भने भिएफएक्स समीर मिया र सत्यम रानाले गरेका छन्।
सुलभी पोखरेल र सत्यम पोखरेल निर्माता रहेको यस फिल्मको वितरण आर आर फिल्मसले नेपालभर गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ।




















