काठमाडौँ । निर्देशक कुमार गजुरेलको डेब्यु फिल्म ‘सारथी’ को शुभमुहूर्त सम्पन्न भएको छ। सोमबार काठमाडौंस्थित भद्रकाली मन्दिरमा पूजा गर्दै फिल्मको औपचारिक सुरुवात गरिएको हो।
वैशाख ९ गतेदेखि म्याग्दीको गुर्जा खानी आसपासका क्षेत्रमा करिब ४० दिनसम्म छायांकन गरिने निर्देशक गजुरेलले जानकारी दिए। किम्भे प्रोडक्सन र धीरज इन्फिनिटी फिल्मस्को सहकार्यमा निर्माण हुन लागेको यस फिल्मबाट वरिष्ठ सम्पादक तारा थापा किम्भे निर्माता रूपमा डेब्यु गर्दैछन्।
फिल्मको मुख्य आकर्षणका रूपमा उत्तम प्रधान र निरुता सिंहको जोडी करिब दुई दशकपछि पुनः एकसाथ देखिन लागेको छ। अभिनेत्री सिंह शुभमुहूर्त कार्यक्रममा सहभागी भइन् भने प्रधान वैशाख १५ गते नेपाल आएर छायांकनमा सहभागी हुने बताइएको छ।
कार्यक्रममा वरिष्ठ सिनेकर्मी लक्ष्मीनाथ शर्मा, प्रकाश सायमी र मन्जुनाथ श्रेष्ठ विशेष अतिथिका रूपमा उपस्थित थिए। साथै नेपाल छन्त्याल संघ का पूर्व महासचिव तथा सल्लाहकार दीपबहादुर छन्त्यालको पनि सहभागिता रहेको थियो।
फिल्ममा उत्तम र निरुतासहित मुकुन्द श्रेष्ठ, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई र आशा विश्वकर्मा लगायतका कलाकारको अभिनय रहनेछ।
सौर्यल थापा निर्माता रहेको फिल्ममा कार्यकारी निर्माता रदिप श्रेष्ठ र प्रदिप रायमाझी रहेका छन् भने लाइन प्रोड्युसरमा अमीर केसी र निर्देशक गजुरेल रहेका छन्।




















