काठमाडौँ । सारिका घिमिरेले आफ्नो चर्चित गीत ‘गुन भुल्यौ पित्तलको सुन पायौं होला’को सफलतापछि नयाँ गीत ‘गुन भुल्यौ–२ साइला दाइ’ सार्वजनिक गरेकी छिन् ।
नयाँ गीतमा शब्द, संगीत र स्वर स्वयं सारिकाकै रहेको छ। गीतको मिक्सिङ तथा मास्टरिङ नोज परियारले गरेका छन् भने भिडिओ निर्देशन केशवराज भट्टले गरेका छन्।
प्रेमविछोडको भावनालाई समेटिएको गीतको भिडिओमा सारिका स्वयंका साथै सौर्य तिरुवा र जेरी भण्डारीको अभिनय देख्न सकिन्छ। छायांकन करण चैसिरले गरेका हुन् भने सम्पादन मनोज कार्कीको रहेको छ।
गीतमा आफूले माया गरेको र गुन लगाएको व्यक्ति समयसँगै टाढिँदै जाने पीडालाई प्रस्तुत गरिएको छ। सारिकाले भुल्दै गएको मायाप्रति गुनासो गीतमार्फत व्यक्त गरेकी छन्।
डेढ दशकदेखि गायन, मोडलिङ, अभिनय र सिर्जनामा सक्रिय सारिका पछिल्लो समय विशेषगरी गायनमार्फत दर्शक–श्रोतामाझ लोकप्रिय बन्दै आएकी छन्। नयाँ गीतले पनि अघिल्लो जस्तै माया पाउनेमा उनी आशावादी छिन्।




















