काठमाडौं । गायिका समिक्षा अधिकारीले सामाजिक सञ्जालमार्फत पीडितहरूको पक्षमा आवाज उठाउँदै संवेदनशील अपिल गरेकी छन्।
उनले आफूले विगतमा भोगेको पीडा स्मरण गर्दै पीडितको मन पीडितले मात्र बुझ्न सक्ने उल्लेख गरेकी छन्। “म त्यो घटनाबाट टाढा अगाडि बढिसकेकी छु, तर ती दिनहरू सम्झिँदा आज पनि मन चिरिन्छ,” उनले लेखेकी छन्।
आफू १८ वर्ष पनि नपुगेको अवस्थामा समाजसँग एक्लै जुध्नुपरेको अनुभव सुनाउँदै उनले त्यतिबेला परिवार बाहेक कसैले साथ नदिएको बताएकी छन्। समाजको दबाब, डर र आरोपको त्रासका कारण धेरै पीडितले समयमै बोल्न नसक्ने यथार्थ उनले औंल्याएकी छन्।
उनले समाजमा पीडितलाई नै दोष दिने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै “किन ढिलो बोलिस्?” भन्ने प्रश्नले पीडितलाई झन् पीडा दिने उल्लेख गरेकी छन्। हरेक व्यक्तिको पीडा फरक हुने भएकाले तुलना नगर्न उनले आग्रह गरेकी छन्।
अधिकारीले कसैको भावनासँग खेलबाड नगर्न र पीडितप्रति सहानुभूति राख्न अपिल गर्दै यस्तो अवस्था कसैको जीवनमा नआओस् भन्ने कामना व्यक्त गरेकी छन्।
साथै, उनले संगम बिष्ट सम्बन्धी प्रकरणमा दुवै पक्षको सत्य बाहिर आउनुपर्ने र दोषीमाथि कडा कारबाही हुनुपर्ने माग गरेकी छन्। उनले आफू सधैं पीडितहरूको पक्षमा रहने प्रतिबद्धतासमेत व्यक्त गरेकी छन्।
बलात्कारको आरोप लागेका कलाकार सागर लम्साल बलेलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।




















