काठमाडौं । तुलसी घिमिरेको निर्देशनमा तयार भएको फिल्म ‘पहाड’को पहिलो गीत ‘मोहनी लगाउने’ सार्वजनिक गरिएको छ। सोमबार सार्वजनिक गरिएको गीतमा नव अभिनेत्री पञ्चमी घिमिरे र अरुण क्षेत्री फिचर्ड छन्।
निर्देशक घिमिरेकै शब्द रहेको गीतमा रञ्जित सिंह गजमेरले संगीत दिएका छन् भने भारती घिमिरे, साकार आप्टे, मदनकृष्ण श्रेष्ठ र अश्मिता अधिकारीको स्वर सुन्न सकिन्छ। गीतमा विपिन कार्कीको र्याप समेत समावेश गरिएको छ। नृत्य निर्देशन कविराज गहतराजले गरेका हुन्।
निर्देशक घिमिरेले केही वर्षपछि सशक्त कथावस्तु चयन गर्दै फिल्म निर्माण गरेको बताउँदै मनोरञ्जनसँगै महत्वपूर्ण सन्देश दिन खोजिएको उल्लेख गरेका छन्।
ग्रामीण परिवेशमा छायांकन गरिएको गीत नृत्यप्रधान र मिठासपूर्ण रहेको छ। यसमा ग्रामीण सौन्दर्य, रोजगारीका लागि युवाहरू गाउँ छाड्नुपर्ने बाध्यता, तथा सहरभन्दा गाउँ जीवन उपयुक्त हुनसक्ने सन्देश प्रस्तुत गरिएको छ।
गीत सार्वजनिक कार्यक्रममा दिनेश डिसीले निर्देशक घिमिरेको योगदानको प्रशंसा गर्दै उहाँको पारिवारिक समर्पण उल्लेख गरेका थिए। यही फिल्ममार्फत घिमिरेकी कान्छी छोरी पञ्चमीले अभिनय क्षेत्रमा डेब्यु गरेकी हुन्।
वैशाख १ गते (नयाँ वर्ष) प्रदर्शनमा आउने फिल्म ‘पहाड’ले युवा पलायनका कारण खाली हुँदै गएका पहाडी बस्ती र त्यसले निम्त्याउने सामाजिक–आर्थिक समस्यालाई चित्रण गर्नेछ।
फिल्ममा सुनिल थापा, रेनुनाथ योगी, रवीन्द्रसिंह बानियाँ, उमा गिरीलगायत कलाकारको अभिनय रहेको छ। प्रस्तुतकर्ता उत्तम रसाइली रहेका फिल्ममा सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ, दमन्ती रसाइली र उमा गिरी निर्माता रहेका छन् भने भावना घिमिरे प्रोडक्सन डिजाइनरका रूपमा संलग्न छिन्।




















