काठमाडौं । हाल प्रदर्शनरत नेपाली चलचित्र ‘आबाट आमा’ को दोस्रो भाग निर्माण हुने भएको छ। पहिलो भाग बक्स अफिसमा हिट भएपछि निर्माण टिमले यसको सिक्वेल ‘आबाट आमा २’ निर्माण गर्ने औपचारिक घोषणा गरेको हो।
चलचित्रका नायक पल शाह मुख्य भूमिकामा रहेका छन्। आइतबार उनको जन्मदिनको अवसर पारेर रानीवनस्थित मानवसेवा आश्रममा आयोजित कार्यक्रममा निर्माण टिमले सिक्वेल निर्माणको घोषणा गरेको हो।
यससँगै पल शाह र निर्देशक चन्द्र पन्त बीच दोस्रोपटक सहकार्य हुने पक्का भएको छ। सिक्वेल घोषणासँगै चलचित्रको टिजर पोस्टर पनि सार्वजनिक गरिएको छ, जसमा पल शाहलाई क्यारेक्टर लुक्समा प्रस्तुत गरिएको छ।
निर्माण टिमका अनुसार चलचित्र ‘आबाट आमा २’ २०८३ सालको दशैंमा रिलिज हुनेछ।
हाल ‘आबाट आमा’ देशभरका सिनेमा हलमा प्रदर्शनरत छ। चलचित्रले नेपाली बक्स अफिसमा १० करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरिसकेको छ भने आम्दानी अझै बढ्ने क्रममा रहेको निर्माण पक्षले जनाएको छ।




















