काठमाडौँ । लोकप्रिय गायिका एलिना चौहानले राजनीति केवल अरूलाई नराम्रो देखाउने प्रतिस्पर्धा मात्र बन्नु हुँदैन भन्दै सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गरेकी छन्।
फेसबुकमा लेख्दै चौहानले सधैं अरूको कमजोरी खोज्ने, दोष लगाउने र नकारात्मकता फैलाउने प्रवृत्तिले समाज परिवर्तन नहुने प्रश्न उठाएकी छन्। उनले राजनीतिक बहस र गतिविधि सकारात्मक सोच, स्पष्ट योजना र जिम्मेवारीबोधमा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरेकी छन्।
उनको भनाइ छ, राजनीति गर्नेहरूले अरूको आलोचना मात्र नभई आफ्नो सोच, आफ्ना योजना र देश तथा जनताका लागि आफूले के गर्न सक्छन् भन्ने कुरा खुलेर भन्न सक्नुपर्छ। यस्ता विषयमा स्पष्टता नआएसम्म राजनीति समाज रूपान्तरणको माध्यम बन्न नसक्ने उनको संकेत छ।
चौहानको यो विचार सामाजिक सञ्जालमा चर्चामा आएको छ। धेरै प्रयोगकर्ताले उनको भनाइलाई समर्थन गर्दै राजनीतिमा सकारात्मक र जिम्मेवार बहस आवश्यक भएको प्रतिक्रिया दिएका छन्।




















