काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ। इन्डियन आइडल विजेता तामाङको आज बिहान भारतको दिल्लीस्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको हो ।
उनका निकट चलचित्रकर्मी राजेश घतानीका अनुसार तामाङको निधन आज बिहान अपार्टमेन्टमै भएको हो। “आज बिहान दिल्लीको आफ्नै अपार्टमेन्टमा निधन भएको हो, हृदयघात भएको रहेछ,” उनले जानकारी दिए।
इन्डियन आइडल जितेपछि प्रशान्त तामाङ नेपालमा समेत अत्यन्त लोकप्रिय बनेका थिए। उनले गाएका थुप्रै नेपाली गीतहरू श्रोतामाझ चर्चित छन्। ४३ वर्षीय तामाङले नेपाली फिल्म क्षेत्रमा अभिनय र पार्श्वगायन दुवैमा सक्रिय भूमिका निर्वाह गरेका थिए।
नारायण रायमाझी निर्देशित फिल्म गोर्खापल्टन २ बाट उनले नेपाली चलचित्र अभिनयमा डेब्यू गरेका हुन्। यस्तै, हिम्मत २ बाट उनले पहिलो पटक नेपाली फिल्ममा पार्श्वगायन गरेका थिए। त्यसपछि उनले अँगालो मायाको, किन मायामा, धड्कन भित्र, निशानी तथा परदेशी भाग १ र २ मा अभिनय गरेका थिए। दिल, अनमोल छन् र हिम्मत २ मा उनले पार्श्वगायनसमेत गरेका छन्।
प्रशान्त तामाङले सलमान खान अभिनीत बलिउड फिल्म ब्याटल अफ गलवान मार्फत बलिउडमा डेब्यू गरेका थिए। उक्त फिल्मको छायांकन सकिएको र उनी डबिङको तयारीमा रहेका थिए।
भारतको दार्जिलिङमा जन्मिएका तामाङले सन् २०११ मा एयर होस्टेस मार्था एलीसँग विवाह गरेका थिए। उनीहरूका एक छोरी छन्। संगीत क्षेत्रमा आउनुअघि उनले केही समय कोलकाता प्रहरीमा कन्स्टेबलको रूपमा समेत सेवा गरेका थिए।
सन् २००७ मा उनको डेब्यू एल्बम धन्यवाद सार्वजनिक भएको थियो। वीर गोर्खाली र असारे महिनामा उनका चर्चित गीतहरू हुन्। उनले नेपालको चर्चित टेलिभिजन श्रृंखला तीतो सत्य मा समेत अभिनय गरेका थिए।
प्रशान्त तामाङको निधनको खबर सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा कलाकार, शुभेच्छुक तथा प्रशंसकहरूले गहिरो शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।




















