काठमाडौं । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)द्वारा पुस २ गतेदेखि कार्यान्वयनमा ल्याइएको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’प्रति चलचित्रकर्मीले असन्तुष्टि जनाएका छन् । सो कार्यविधिको सातौँ बुँदामा उल्लेख भएको महोत्सवमा प्रदर्शन गरिने चलचित्रलाई समेत जाँच गर्नुपर्ने नियमप्रति उनीहरुले आपत्ति जनाएका हुन् ।
उक्त बुँदामा लेखिएको ‘समितिले चलचित्र जाँच गरी प्रदर्शन गर्न अधिकार प्रत्यायोजन गरेको अवस्थामा बाहेक समितिबाट जाँचपास भएका चलचित्र मात्र महोत्सवमा प्रदर्शन गर्न पाइनेछ’ प्रति असन्तुष्टि व्यक्त गर्दै चलचित्रकर्मीले यसलाई सच्याउनुपर्ने माग गरेका छन् । चलचित्र निर्देशक केपी पाठकले नयाँ कार्यविधिले अन्तरराष्ट्रिय चलचित्र महोत्सवलाई असर पुर्याउने बताए ।
“महोत्सवमा सहभागी हुने चलचित्र विश्वभर जाँच पास हुँदैनन्, त्यो त सार्वजनिक प्रदर्शनका लागि लिइने इजाजत हो,” उनले भने, “यो प्रावधानले नेपालमा हुने अन्तर्राष्ट्रिय चलचित्र महोत्सवलाई प्रत्यक्ष असर गर्छ ।” निर्देशक पाठकले यसबारे पुनर्विचार गर्नुपर्नेमा जोड दिए ।
चलचित्र निर्माता रामकृष्ण पोखरेलले चलचित्रको जाँचको सट्टा वर्गीकरण गर्ने नियम हुनुपर्ने बताए ।

























