काठमाडौँ । फिल्म ‘बिगुल’ को पहिलो झलक सार्वजनिक गर्दै निर्माण पक्षले फिल्मको प्रदर्शन मिति तय गरेको छ। बहुप्रतिक्षित यो फिल्म आगामी माघ ९ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउनेछ ।
सार्वजनिक तीन पोस्टरमध्ये पहिलोमा अभिनेत्री बेनिशा हमालको गम्भीर अभिव्यक्ति देखिन्छ भने पृष्ठभूमिमा राँको बोकेका प्रदर्शनकारीहरूको भीड छ, जसले हालैको जेनजी आन्दोलनको झल्को दिन्छ। दोस्रो पोस्टरमा बेनिशा हमाल, नरेन खड्का र रमेश बुढाथोकी आक्रोशित मुद्रामा देखिएका छन्। तेस्रो पोस्टरमा फिल्मका सबै प्रमुख कलाकारहरू समेटिएका छन्।
रमेश कोइरालाको निर्देशन, कल्पना पौडेलको प्रस्तुति र दिनेश कोइरालाको कथामा बनेको ‘बिगुल’ को शुभमुहूर्त गत बैशाख दोस्रो सातामा गरिएको थियो र जेठदेखि सुटिङ थालिएको थियो।
फिल्ममा उठाइएको मुख्य विषयवस्तु–समाज परिवर्तन, न्याय र राज्य सुधारका माग–तेही विषय र माग लिएर जेनजी पुस्ताले गत भदौमा देशव्यापी आन्दोलन गरेको निर्माण पक्षले बताउँछ। जेनजी आन्दोलन सुरु हुनुअघि नै सोही विषयमा फिल्म निर्माण सुरु हुनु रोचक संयोग भएको निर्माताहरूको भनाइ छ।
कथाकार तथा निर्माता दिनेश कोइरालाले फिल्मलाई जेनजी आन्दोलनप्रति समर्पित गरिएको जानकारी दिँदै भने, “बिगुलले उठाएको मूल मुद्दा र जेनजीले माग गरेका विषय ठ्याक्कै मिल्छन्। यसले युवा र महिलामा चेतना जगाउँदै भ्रष्टाचार र विकृति अन्त्यका लागि परिवर्तनको बिगुल फुक्छ। नयाँ, समृद्ध नेपालप्रति आम नेपालीको चाहनालाई पनि सम्बोधन गर्छ।”
निर्देशक रमेश कोइरालाले फिल्म परिवार, सामाजिक न्याय र राजनीतिक सचेतनाबाट जन्मिएको नयाँ मार्गको कथन भएको बताए। उनका अनुसार ‘बिगुल’ ले भुइँमान्छेहरूको सपना, संघर्ष र बलिदानीलाई पर्दामार्फत आवाज दिएको छ। महिलाको संघर्ष, पारिवारिक कथा र सामाजिक रूपान्तरणको भाव समेत फिल्मले उठाएको उल्लेख उनले गरे।
म्याग्नोलिया ग्रुपको ब्यानरमा बनेको यस चलचित्रमा बेनिशा हमालसँगै नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिसिर वाङ्देल, बिनोद न्यौपाने, जेएन घिमिरे, गीता अधिकारी, मीरा पण्डित, मानश्री शर्मा लगायत कलाकारले अभिनय गरेका छन्।
फिल्ममा प्रदीप भारद्वाज र मौनता श्रेष्ठको पटकथा–संवाद, शिब ढकालको छायांकन, कमल राई र कविराज गहतराजको नृत्य निर्देशन, एन.भी. महर्जनको द्वन्द्व निर्देशन, बिश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत तथा तारा थापा ‘किम्भे’ को सम्पादन रहेको छ। फिल्मका सहनिर्मातामा सूर्यकान्त कोइराला र महेश कोइराला छन्।

























