काठमाडौँ । जीवन शाहीले लेखन तथा निर्देशन गर्दै निर्माण भइरहेको नयाँ नेपाली चलचित्र ‘स्त्री’ आगामी फागुन २९ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने भएको छ। मिति सार्वजनिकसँगै निर्माण पक्षले चलचित्रको शीर्षक डिजाइन पनि सार्वजनिक गरेको छ।
मेला रेकर्डिङ स्टुडियोको ब्यानरमा समिर राईले निर्माण गरेको ‘स्त्री’को कथा निर्देशक शाहीकै हो भने पटकथामा उनलाई किशन अर्यालले साथ दिएका छन्।
चलचित्रमा रामशरण उप्रेतीले छायांकन, बाबुल गिरीले संगीत, सुबास काफ्लेसले प्रोजेक्ट म्यानेजमेन्ट, देव महर्जनले द्वन्द्व निर्देशन र चन्द्र भण्डारीले प्रमुख सह–निर्देशन गरेका छन्। त्यस्तै, श्याम बराल मेकअपमा र सुकनिता चौलागाईं ड्रेस डिजाइनमा छन्। सह–निर्मातामार्फत सहदेव बिष्ट, प्रमोद भट्टराई प्रतीक, रिता श्रेष्ठ र मञ्जु राजबंशी फिल्मसँग जोडिएका छन्।
सयौँ म्युजिक भिडियो निर्देशन गरेका जीवन शाहीका लागि ‘स्त्री’ डेब्यु निर्देशन फिल्म हो। सामाजिक कथामा आधारित यस चलचित्रमा प्रमोद अग्रहरी, सलोन बस्नेत, रिस्ता बस्नेत, नम्रता श्रेष्ठ, दिनेश डिसी र दीपाश्री निरौला मुख्य भूमिकामा छन्। साथै, बाल कलाकार दिप्सन चिलवाल पनि देखिनेछन्।
निर्माता समिर राईका अनुसार फिल्म हाल पोस्ट–प्रोडक्सनमा रहेको छ। नारी–केन्द्रित कथामा बनेको ‘स्त्री’ को डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरिसकेको छ भने वितरण एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले देशभर गर्नेछन्।

























