काठमाडौं । अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘जेरी अन टप’ ले प्रदर्शन सुरु भएको दुई सातामै बक्स अफिसमा उल्लेखनीय सफलता हात पारेको छ। निर्माता सरोज न्यौपानेका अनुसार, फिल्मले देशभरबाट १० करोड रुपैयाँको ग्रस कलेक्सन पार गरेको छ।
“फिल्मले दर्शकको अत्यन्त राम्रो साथ पाएको छ। नेपालमै १० करोड पार गरेको खुशीमा हामी भोलि सेलिब्रेसन गर्दैछौं,” निर्माता न्यौपानेले बताए।
तर, चलचित्र विकास बोर्डले भने हालसम्म नयाँ आधिकारिक तथ्यांक सार्वजनिक गरेको छैन। बोर्डका पछिल्ला विवरणअनुसार गत शनिबारसम्म ‘जेरी अन टप’ ले ६ करोड ५१ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ।
अनमोलको करिअरमै नयाँ रेकर्ड
योसँगै ‘जेरी अन टप’ अनमोल केसीको अभिनय करिअरमा अहिलेसम्मको सबैभन्दा बढी कमाइ गर्ने फिल्म बनेको छ। यसअघि उनको सर्वाधिक कमाउने फिल्म ‘ए मेरो हजुर ३’ थियो, जसले करिब ७ करोड रुपैयाँ कमाएको थियो। विकिपिडियामा सो फिल्मको ग्रस कलेक्सन ८ करोड ८० लाख रुपैयाँ उल्लेख गरिएको छ, तर ‘जेरी अन टप’ ले त्यसलाई समेत उछिनेको निर्माता पक्षको दाबी छ।
निर्देशक सुयोग गुरुङले निर्देशन गरेको यस फिल्ममा अनमोलसहित जसिता गुरुङ, आँचल शर्मा, केदार घिमिरे (माग्ने बुढा), भुवन केसी र उषा खड्कीको प्रमुख भूमिका छ ।
फिल्मले सगरमाथा आरोहण र त्रिकोणात्मक प्रेमकथालाई केन्द्रमा राखेको छ। कथाले साहस, प्रेम र आत्मत्यागको भावनालाई एकसाथ जोड्ने प्रयास गरेको छ।
फिल्मको कथा हेमराम बिसीले लेखेका हुन् भने पटकथा र संवाद विश्वास तिम्सिनाले तयार पारेका हुन्।
‘जेरी अन टप’ को व्यावसायिक सफलता सँगै अनमोल केसीले पुनः आफ्नो स्टारडम बलियो बनाएका छन्। फिल्मले दर्शक र समीक्षक दुबैबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। अब यसको कुल कमाइ कति पुग्छ भन्ने प्रतिक्षा भने अझै बाँकी छ।

























