काठमाडौँ । आउँदो कार्तिक ७ गतेबाट प्रदर्शनमा आउने नेपाली फिल्म ‘मैझारो’को टिजर सार्वजनिक गरिएको छ। टिजरमा फिल्मका मुख्य पात्र धिरज मगर, मिरुना मगर र दिया पुनबीचको त्रिकोणात्मक प्रेम सम्बन्ध देखाइएको छ।
टिजरमा पूर्वी नेपालको सुन्दर इलामको गाउँले परिवेश झल्किन्छ। अभिनेता धिरज मगर ग्रामीण युवाको भूमिकामा देखिन्छन् भने अभिनेत्री मिरुना मगर चिया बगानमा चिया पत्ती टिप्ने श्रमिकको भूमिकामा प्रस्तुत भएकी छन्। उनी डोको बोकेर चिया टिप्दै गरेको दृश्य टिजरमा छायांकन गरिएको छ।
धिरज र मिरुनाबीचको प्रेम सम्बन्धले टिजरमा प्राथमिकता पाएको छ। तर कथामा आउने कुनै बाध्यता वा परिस्थितिका कारण धिरज दिया पुनसँग नजिकिएको देखिन्छ, जसले कथालाई त्रिकोणात्मक मोड दिन्छ।
फिल्म ‘मैझारो’लाई अभिनेता तथा हास्य कलाकार विल्सन विक्रम राई (तक्मे बुढा) ले लेखन र निर्देशन गरेका हुन्। धिरज, मिरुना र दियासँगै फिल्ममा दयाहाङ राई, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु जस्ता कलाकारहरूको पनि अभिनय रहेको छ।
‘तक्मे प्रोडक्सन’को ब्यानरमा निर्माण भएको फिल्ममा अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत छ। स्वरमा राजेशपायल राई, झुमा लिम्बू, मेलिना राई र अस्मिता अधिकारीको योगदान रहेको छ।
सौरभ लामाले छायांकन गरेका फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार OSRले लिएको छ।

























