काभ्रेपलाञ्चोक । यही भदौ २४ गते जेनजी आन्दोलनका क्रममा रास्वपाका सभापति रवि लामिछानेसँगै नक्खु कारागारबाट भागेका एक कैदीले श्रीमतीको हत्या गरेका छन् । सर्वत्र आलोचना भएपछि लामिछाने भने जेल फर्किसकेका छन् । लामिछानेसँगै भागेका मध्ये आधा कैदी अझै बाहिरै छन् ।
नक्खु कारागारबाट भागेका काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२ गागलका वर्ष ३५–३६ का सन्तबहादुर तामाङले आफ्नै श्रीमती ३० वर्षीय मनिषा घ्यावा तामाङको हत्या गरेको वडा अध्यक्ष जयराम केसीले बताएका छन् ।
३ दिनदेखि बेपत्ता मनीषाको शव घर नजिकै बारीमा पुरेको अवस्थामा फेला परेको बताइएको छ । सन्तबहादुर र उनकी श्रीमतीबीच जेलबाट फर्किएपछि झगडा भएको स्थानीयले प्रहरीलाई बताएका छन् । सन्तबहादुर हाल फरार छन् । सन्तबहादुर जवरजस्ती करणीमा जेल परेका थिए ।
इलाका प्रहरी कार्यालय बनेपाको टोली घटनास्थलतर्फ गएको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

























