काठमाडौं । अनमोल केसीको मुख्य भूमिका रहेको बहुप्रतिक्षित चलचित्र ‘जेरी अन टप’ को टिजर सार्वजनिक गरिएको छ। १ मिनेट ५२ सेकेण्डको टिजरले चलचित्रको मुख्य कथा सन्दर्भलाई झल्काउने प्रयास गरेको छ, जसमा विश्वको सर्वोच्च शिखर सगरमाथाको साहसिक यात्रा र त्यस क्रममा हुने प्रेमकथा प्रस्तुत गरिएको छ।
चलचित्रको निर्देशन सुयोग गुरुङले गरेका हुन् भने कथा हेमराज बिसीको रहेको छ। पटकथा विश्वास तिम्सिनाले लेखेका छन्। सरोज न्यौपानेको प्रस्तुतिमा तयार भएको यस चलचित्रको निर्माणमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले लगानी साझेदारी गरेका छन्।
कार्यकारी निर्माताको भूमिकामा अनुराधा गिरी र ईश्वर श्रेष्ठ छन् भने एसोसिएट निर्मातामा नविन घिमिरे, विवेक थापा र भविष्य खड्का रहेका छन्।
चलचित्रलाई नेपालमा रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् भने अष्ट्रेलियाबाहेक अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार हङकङस्थित एलजी एसोसिएट्सले खरिद गरेको छ।
अनन्या फिल्म्स र भण्डारी मल्टी ट्रेडको ब्यानरमा निर्माण भएको ‘जेरी अन टप’ मा अनमोल केसीसँगै जसिता गुरुङ, आँचल शर्मा, विपना थापा, केदार घिमिरे ‘माग्ने बूढा’, सुरक्षा पन्त, भुवन केसी, निर्मल शर्मा लगायतका कलाकारको अभिनय रहेको छ।
चलचित्र आगामी तिहारको अवसर पारेर असोज ३१ गतेबाट देशभर प्रदर्शनमा आउनेछ।

























