
काठमाडौं, साउन २७ । महाकाव्यकार खेमनाथ दाहालको राष्ट्रिय भावनाले ओतप्रोत गीत ‘बुद्धको देश नेपाल’ एक विशेष समारोहका बीच काठमाडौंमा आइतबार भव्य रूपमा विमोचन गरिएको छ। नेपाल संस्कृत विश्वविद्यालयका कुलपति प्रा.डा. कुलप्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा तथा वरिष्ठ पत्रकार, साहित्यकार एवं हिमालय टाइम्स दैनिकका प्रधान सम्पादक पुरुषोत्तम दाहालको सभापतित्वमा गीतको भिडियो स्विच अन गरेर सार्वजनिक गरिएको हो।
गीत ‘श्वेतपत्र’ महाकाव्यबाट साभार गरिएको हो, जसमा कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले स्वर र संगीत दिएका छन्। संगीत संयोजन राजु कार्कीले, संगीत सञ्चय एसबी मुस्कानले, र संगीत सम्पादन प्रकाश मिश्रले गरेका छन्। गीत अकस्टिक स्टुडियोमा रेकर्ड गरिएको हो।
राजन खरेलको छायांकन तथा दृश्य सम्पादन रहेको भिडियोमा खेमनाथ दाहाल, उषा दाहाल, सन्तोष श्रेष्ठ र कृष्ण भुसाल फिचरिङ छन्। भिडियो कलिउड हव मा सम्पादन गरिएको हो र सन्तोष श्रेष्ठको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
कार्यक्रम मिलाप मासिकको आयोजनामा भएको थियो, जसमा चलचित्र विकास बोर्डका सदस्य गणेश सुवेदीले सहजीकरण गर्नुभएको थियो। कृष्ण भुसालले स्वागत मन्तव्य राख्दै सन्तोष श्रेष्ठले साहित्य र संगीतको संयोजनमार्फत सृजनामा नयाँ आयाम थप्दै आएको बताए।
संगीतकार तथा गायक सन्तोष श्रेष्ठले महाकाव्यका श्लोकलाई गीतमा रूपान्तरण गर्न गरिएको मेहनतको चर्चा गर्दै भविष्यमा ‘श्वेतपत्र’ महाकाव्यका थप श्लोकहरूलाई गीतका रूपमा ल्याउने योजना पनि सुनाए। उनले गजलकार घनेन्द्र ओझासँग मिलेर सञ्चालन गर्दै आएको गजलको स्वर्ण दशक कार्यक्रमको जानकारीसमेत दिए।
महाकाव्यकार दाहालले विभिन्न परिवेशमा श्वेतपत्रले पाएको प्रशंसा र आलोचनाको अनुभव बाँडे। भारतका केही ठाउँमा कृतिका कारण झन्झट खेप्नुपरेको पनि बताए।
वरिष्ठ संगीतकार राजु सिंहले साहित्य र संगीतको संयोजनले नेपाली संगीतमा नवप्रयोगको बाटो खोलेको चर्चा गरे।
डा. अम्बिका अर्यालले श्वेतपत्र नेपाल, सिक्किम र भुटानबीचको संवादको प्रतिनिधित्व गर्ने र यसको थप चर्चा हुनु पर्ने बताए। प्रा. ज्ञाननिष्ठ ज्ञवालीले दाहालका कृतिहरूमध्ये श्वेतपत्रलाई सर्वश्रेष्ठ माने। गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाले दाहाललाई अब गीतकारको रूपमा पनि परिचय थपिएकोमा बधाई दिए।
डा. यज्ञेश्वर निरौलाले दाहालका अन्य कृतिहरूको चर्चा गर्दै श्वेतपत्रबाट लिइएको गीत भाषिक नियमअनुसार उत्कृष्ट रूपमा प्रस्तुत गरिएको बताए।
प्रमुख अतिथि प्रा.डा. कोइरालाले श्वेतपत्र र उपन्यास अहोरात्रलाई दाहालका विशेष कृति भन्दै यिनमा विद्रोही चेतनाको सशक्त अभिव्यक्ति रहेको बताए।
कार्यक्रमका सभापति पुरुषोत्तम दाहालले खेमनाथ दाहालको नेपाली साहित्यमा पुर्याएको योगदानको प्रशंसा गर्दै गीत र भिडियो दुवै उत्कृष्ट बनेको बताए।
कार्यक्रममा लेखनाथ पोख्रेल, डा. बुनु दाहाल, वरिष्ठ कलाकार उत्तम केसी, भूपेन्द्र कार्की, डा. अंकुर दाहाल, गीतकार गीता अधिकारी, सानुकाजी श्रेष्ठ, कृष्णराज गौतम, विनोद देवकोटा, भरत दाहाल, राजु दाहाल, घनश्याम दाहाल लगायत विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो।
श्वेतपत्र महाकाव्यमा ४५ भन्दा बढी प्राज्ञद्वारा समालोचना भइसकेको छ र यो कृति पाठकमाझ पनि लोकप्रिय बन्न पुगेको छ।

























