काठमाडौं । लोकप्रिय गायिका कोमल वलीले यस वर्षको तीजका लागि नयाँ गीत सार्वजनिक गरेकी छन् । ‘सुनिदेऊ शिव’ शीर्षकको उक्त गीत बिहीबार सार्वजनिक भएको हो ।
यो गीत कोमल वलीकै पुरानो हिट गीत ‘भेटिएन कोही’ को परिमार्जित संस्करण हो । यसपटकको तीज गीतमा कोमलले शब्द, संगीत र स्वर तीनवटैमा आफैँको योगदान दिएकी छन् ।
गीतको एरेन्ज विनोद बाजुरालीले गरेका हुन् भने मिक्सिङ र मास्टरिङ खडक बाजुरालीको रहेको छ ।
हरेक वर्ष फरक स्वाद र शैलीका तीज गीत प्रस्तुत गर्दै आएकी कोमलले यसपटक शान्त र भावुक भावमा आधारित गीत ल्याएकी छन् । गीतमा एक चेलीले तीजको व्रत बसेर महादेवसँग आफ्ना मनका कुरा सुनिदिन आग्रह गरेकी छन् ।
यसअघि उनले ‘पोइला जान पाम’, ‘तीजमा रमाइलो’, ‘बोल्नेलाई बोल्न देऊ’ जस्ता तीज गीतमार्फत दर्शकको अपार माया पाउँदै आएकी छन् ।