काठमाडौं । लोकप्रिय गायिका रचना रिमाल अस्पतालबाट डिस्चार्ज भएकी छन् ।
गत मंगलबार स्वास्थ्य समस्या देखिएपछि काठमाडौँको ह्याम्स अस्पतालमा भर्ना भएकी रिमाललाई शनिबार राति अस्पतालले डिस्चार्ज गरेको हो । सांगीतिक कार्यक्रममा सहभागी हुन रुकुम–पश्चिम गएकी रचना त्यहाँ बिरामी परेपछि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।
चिकित्सकहरूले उनको आन्द्रामा संक्रमण देखेपछि एन्टिबायोटिकमार्फत उपचार गरेका थिए । स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि उनलाई घर फर्कन अनुमति दिइएको हो ।
उपचारको क्रममा शान्तिश्री परियार, बद्री पंगेनी, एलिना चौहान, वसन्त सापकोटा, भरतमणि पौडेललगायतका कलाकार तथा साथीहरू उनलाई भेट्न अस्पताल पुगेका थिए ।
सधैं स्टेज कार्यक्रम र स्टुडियोमा व्यस्त रहने गायिका रिमालले अब केही समय आरामका लागि घरमै बस्ने भएकी छन् ।