काठमाडौं । अभिनेता राजेश हमाल आठ वर्षको अन्तरालपछि चलचित्रमा देखिएका छन् । उनले अभिनय गरेका चलचित्र ‘नरसिंहा अवतार’ आज शुक्रबारदेखि नेपालभर प्रदर्शनमा आएको छ । आफूले सुहाउँदो र अनुकूल भूमिका पाएकै कारण चलचित्र अभिनयमा पुनः फर्किएको हमालले बताए ।
‘मलाई चलचित्रमा काम गर्ने प्रस्ताव धेरै आइरहेका थिए । तर, मैले आफ्नो पात्रलाई सुहाउँदो भूमिका पाइनँ र अन्य काममै व्यस्त भएँ । यस चलचित्रमा प्रस्ताव गर्दा पनि म अभिनय गर्ने मनस्थितिमा थिइनँ, तर निर्देशकले पटकथा सुनाउनुभएपछि मैले खोजेको जस्तो भूमिका पाएँ । चलचित्रको विषयवस्तु, म सुहाउँदो भूमिका र विश्वास गर्न सकिने निर्देशक, निर्माताको समूहले गर्दा म चलचित्रमार्फत ठूलो पर्दामा पुनः आएँ,’ हमालले भने ।
हमालले विगतका वर्षमा चलचित्रमा अभिनय गर्ने प्रस्ताव आए तापनि चित्त बुझ्दो र सुहाउँदो भूमिका नपाएकाले ठूलो पर्दामा नदेखिएको स्पष्ट पारे । विशेषतः उनले अभिनय गरेका दुई चलचित्र ‘वाग्मती’ र ‘सकुन्तला’ असफल भएपछि चलचित्रभन्दा विज्ञापन, मेला महोत्सव र टेलिभिजनजस्ता कार्यक्रममा व्यस्त थिए ।
‘कथावस्तु मन परेर अभिनय गरेका चलचित्र प्रदर्शनमा आउँदा मैले मेकिङमा त्यो गुणस्तर पाइनँ । त्यसकारण केही समय विश्राम लिएँ र त्यो समयमा म अन्य गतिविधिमा व्यस्त भएँ । यसपटक सबैले मेहनत गरेका छौँ, दर्शक प्रतिक्रिया बुझ्न म पनि प्रतीक्षारत छु’, उनले भने ।
निर्देशक दिवाकर भट्टराईले स्थापित अभिनेता हमाललाई पुनः चलचित्रको पर्दामा ल्याउनु आफ्ना लागि अवसर र चुनौती रहेको बताए । ‘अभिनेता हमालको फ्यानका बारेमा मैले बोल्नै पर्दैन । उहाँलाई हेर्न चलचित्र भवनसम्म आउनुहुने दर्शकले निराश हुनुपर्दैन, आफूले गरेको कामप्रति विश्वस्त छु । हाम्रो चलचित्रको मुख्य आकर्षण कथा नै हो, त्यहाँ परिवेशअनुसार सबै पात्रलाई सुहाउँदो भूमिकामा प्रस्तुत गरेको छु’, निर्देशक भट्टराईले भने ।
चलचित्रमा हमालसँगै राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, दीपा शाही, उषा खड्गी र बाल–कलाकारहरु एभेलिना खड्का, समाइरा थापालगायतले अभिनय गरेका छन् ।
चलचित्र ‘नरसिंहा अवतार’ नेपालभर १३३ शो प्राप्त गरेको निर्माण पक्षले जनाएको छ । नेम महर्जन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेले चलचित्रलाई संयुक्त रुपमा निर्माण गरेका हुन् ।

























