काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा मन्त्रालयको स्पष्टीकरणको जवाफ बुझाएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उनलाई ९ बुँदे स्पष्टीकरण सोधेको थियो । उक्त स्पष्टीकरणमा निर्देशक घिसिङले आफूले कार्यसम्पादनमा पनि उच्च अङ्क प्राप्त गरेको र सरकारले ४ वर्षका लागि भनेर नियुक्ति गरेको भन्दै अहिले हटाउन नमिल्ने जिकिर गरेका छन् ।
स्पष्टीकरणमा ‘नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७८।०४।२५ को निर्णयबमोजिम नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षको कार्य अवधिका लागि मेरो नियुक्ति भएकोमा संस्थागत हित र उल्लेख्य कार्य प्रगति भइरहेको अवस्था एवम् माथि उल्लिखित तथ्य, आधार र विवेचना समेतका आधारमा त्यहाँको पत्रमा उल्लेख भएबमोजिम नियुक्ति अन्त्य गर्ने सम्बन्धी कुनै पनि कारबाही तथा निर्णय गर्ने अधिकार अन्यमा नरहेको ब्यहोरा अनुरोध छ,’ भनिएको छ ।
मन्त्रालयले कार्यसम्पादन किन नबुझाएको भनेर पनि सोधेको थियो । जसको जवाफमा घिसिङले कार्यसम्पादन विवरण मूलतः कार्यकारी निर्देशकको प्रोत्साहन भत्तासँग सम्बन्धित रहेको र संस्थाको अति जरुरी काममा खटिनु परेकोले विवरण बुझाउन ढिला भएको बताएका छन् ।
डेडिकेटेड ट्रंक लाइन विद्युत महशुल विवाद समाधान गर्नुको सट्टा नोट अफ डिसेन्ट लेखेको, कार्यसम्पादनसम्बन्धी विवरण नबुझाएको, मन्त्रालयले माग गरेको विवरणमा सत्यतथ्य लुकाई वस्तुनिष्ठ, यथार्थपरक जवाफ नपठाई केवल औपचारिकता मात्र निर्वाह गर्ने ढंगको असन्तुलित जवाफ र असम्बन्धित कागजात र विवरण पठाएकोलगायतका आरोपमा निर्देशक घिसिङलाई स्पष्टीकरण सोधिएको थियो ।
स्पष्टीकरणको पूर्णपाठ




















