काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई फेरि प्रहरी हिरासतमा लगिएको छ ।
आइतबार काठमाडौं जिल्ला अदालतमा बयान सकिएर थुनछेक बहस शुरू नभएपछि लामिछानेलाई न्यायिक हिरासतमा पठाउने आदेश भएपछि उनलाई हिरासतमा लगिएको हो ।
लामिछानेको बयान समयमै सकिए पनि सरकारी वकिलले बयान अध्ययनका लागि भन्दै समय मागेपछि आज थुनछेक बहस हुन सकेन ।
त्यसपछि उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखेर न्यायाधीश माधवप्रसाद अधिकारी नेतृत्वको इजलासले सोमबार पुनः थुनछेक बहस गर्ने गरी उनलाई प्रहरीको जिम्मा लगाइएको हो ।
लामिछानेलाई आज भद्रकालीस्थित प्रहरी परिसरको हिरासतमा राखिने प्रहरीले स्रोतले जानकारी दिएको छ ।
सूर्यदर्शन सहकारीको रकम अपचलन अभियोगको मुद्दामा कास्की जिल्ला अदालतको आदेशबमोजिम ८४ दिन प्रहरी हिरासतमा बसेका लामिछाने गत विहीबार मात्र ६५ लाख बराबरको धरौटी बुझाएर रिहा भएका थिए । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा आज उनी स्वयम् काठमाडौं अदालतमा हाजिर भएका हुन् ।