काठमाडौँ । आज भक्तपुरस्थित निवासबाट पक्राउ परेका दुर्गा प्रसाईंमाथि लिखत सम्बन्धी कसुर (किर्ते) र विद्युतीय कारोबारसम्बन्धी अपराध (साइबर क्राइम) मा अनुसन्धान हुने भएको छ ।
तत्काल विद्युतीय कारोबार (साइबर अपराध) सम्बन्धी कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको र अरू कसुरमा पनि जाहेरी रहेकाले थप विषयमा पनि मुद्दा अघि बढ्ने सीआईबी निर्देशक दीपक थापाले बताएका छन् ।
प्रसाईविरूद्ध किर्ते कसुरमा पनि अनुसन्धान हुने गरी अदालतको अनुमति लिने तयारी भइरहेको प्रहरीले जनाएको छ।
प्रसाईँमाथि पहिलेदेखि नै विभिन्न अपराधमा अनुसन्धान भइरहेको र हिजोको घटनापछि तत्काल नियन्त्रणमा लिनुपर्ने अवस्था आएको प्रहरीले जनाएको छ ।
प्रसाईँले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाइएका सामग्री सामाजिक सञ्जालमा फैलाएको आरोप छ । कम्वोडियामा ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको भन्दै प्रसाईको आरोप प्रारम्भिक अनुसन्धानले गलत रहेको र सार्वजनिक कागजपत्रमा प्रधानमन्त्री ओलीको हस्ताक्षर नै किर्ते गरेको प्रहरीको भनाइ छ।
रास्वपाकी एक केन्द्रीय सदस्यले दिएको जाहेरीअनुसार असोज ६ गते पक्राउ परेका प्रसाईविरूद्ध साइबर अपराधसम्बन्धी मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ। उक्त मुद्दामा उनी १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।