काठमाडौं । पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई स्वास्थ्य चेकजाँजका वीर अस्पताल लगिएको छ । मेडिकल गरेर उनलाई साइबर ब्युरो लैजाने र हिरासतमा राख्न अनुमतिका लागि अदालत लगिने प्रहरीले जनाएको छ ।
प्रसाईँविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम साइबर क्राइम, किर्ते र मानहानीमा मुद्दा चलाइने सीआईबी प्रवक्ता एसपी होविन्द्र बोगटीले बताएका छन् ।
एक व्यक्तिलाई एकैपटक एकभन्दा बढी मुद्दा चलाउने कानूनी सुविधा नभएका कारण एउटा मुद्दाको अनुसन्धानपछि अर्को मुद्दा चलाइने उनले बताएका छन् ।
प्रसाईं दुई महिनामा दोस्रोपटक फौजदारी कसुरको अनुसन्धानका लागि पक्राउ परेका हुन् । यसअघि गत असोज ६ गते पनि साइबर अपराधमै पक्राउ परेका थिए । १ लाख धरौटीमा छुटेका उनको उक्त मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ ।
प्रसाईंले सोमबार किर्ते कागजात देखाएर प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्री ओलीको कम्बोडियास्थित स्मार्ट एक्जिएटा टेलिकम कम्पनीमा २१ करोड अमेरिकी डलर बराबरको लगानी रहेको भ्रम फिंजाउँदै प्रसाईंले सोमबार केही कागजात सार्वजनिक गरेका थिए । ती विवरणहरु सामाजिक सञ्जालमा भाइरल समेत भएका थिए भने केही मिडियाले सत्य परीक्षण नगरी समाचार प्रकाशित गरेका थिए । प्रसाईले प्रमाण ल्याएको भन्दै स्क्रिनमा सार्वजनिक गरेको ती कागजातका कुनै पनि विवरण विश्वसनीय नरहेको अनुसन्धान अधिकृतहरुको प्रारम्भिक निष्कर्ष छ ।