काठमाडौँ । अंश विवादमा बुवाको हत्या गरेको आरोपमा ४४ वर्षीय रामलाल श्रेष्ठ पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार पक्राउ परेका नमोबुद्ध नगरपालिका–७ निवासी रामलालले ७४ वर्षीय बलबहादुर श्रेष्ठको हत्या गरेको स्वीकार गरेका छन् ।
अंश नदिएको निहुँमा रामलालले कात्तिक ८ गते राति मुक्का, हँसिया, फलामे गलसहितले प्रहार गरेर बुवाको हत्या गरेको भएपनि कात्तिक १० गते मात्रै घटना सार्वजनिक भएको थियो ।
श्रेष्ठलाई कोठामा मृत अवस्थामा छोरीले फेला पारेपछि काकालाई खबर गरेकी थिइन् । त्यसपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो ।
रामलालले कात्तिक ८ गते बुवासँग अंश मागेपछि बुवा बलबहादुरले भाइलाई समेत सँगै राखेर अंश दिने बताएपछि बाउछोराबीच विवाद भएको पाइएको प्रहरीले जनाएको छ ।
बुवाको हत्यापछि फरार रहेका रामलाललाई काभ्रे प्रहरीले कात्तिक २३ गते स्थानीय ढोडेनी वनमा लुकीछिपी बसेको अवस्थामा स्थानीयबासीको सहयोगमा पक्राउ गरेको थियो । उनी पन्ध्र दिनसम्म ढोडेनी वन र नजिकै रहेको ढोडको कुन्यूमा दुई साता लुकेर बसेको खुलेको प्रहरीले जनाएको छ।
रामलाललाई थप अनुसन्धानका लागि आइतबार काभ्रे जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा सात दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।