काठमाडौं । महासमितिका लागि सांगठनिक प्रस्तावमाथि महामन्त्री गगन थापाले लेखेको प्रतिवेदनको कतिपय कुरामा सभापति शेरबहादुर देउवाको असमझदारी पछि पदाधिकारी बैठक बोलाइएको छ ।
महामन्त्री थापाको सांगठनिक प्रतिवेदनमा चुनावमा गठबन्धन नगर्ने उल्लेख छ । तर, सभापति देउवा चुनावी गठबन्धनबारे अहिल्यै निर्णय गर्न नहुने पक्षमा छन् । यस विषयमा सहमति जुटाउन आज मात्रै पनि महासमितिकाे बैठक उद्घाटनअघि बूढानीलकण्ठमा उहाँहरुबीच वार्ता भएको थियो । तर महामन्त्री थापाले पछि नहड्ने अडान लिएपछि शनिबारदेखिको वार्ता निरन्तर विफल भएको हो ।
संस्थापन पक्षले ‘प्रि-इलेक्सन एलायन्स’ नगर्ने संकल्प गर्ने प्रस्तावप्रति आपत्ति जनाएका छन् । तर, महामन्त्री थापा प्रतिवेदनबाट उक्त विषय हटाउन तयार भएनन् ।
महामन्त्री थापाको प्रतिवेदनमा डा. शेखर कोइरालासहित इतर पक्षका नेताहरूको समर्थन रहेको छ ।
महामन्त्रीको प्रतिवेदनमा सभापति कै असन्तुष्टि रहेपछि पदाधिकारी बैठक डाकिएको हो । पदाधिकारी बैठकमा महामन्त्री थापाले ल्याएको प्रस्तावलाई सर्वसम्मत बनाउन प्रयास गर्ने बताईएको छ ।
त्यसैका लागि सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाउनु भएको हो ।
प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापतिले शीर्ष तहका नेताको बैठक डाकेको जानकारी दिए ।
मंगलबार विहान प्रस्तुत हुने प्रतिवेदनमा हालसम्म सहमति जुट्न नसकेपछि नेताहरु छलफलमा बस्न उद्धघाट्न सत्र छोट्याइएको थियो ।
बैठकमा पदाधिकारीमा सभापति देउवा, उपसभापति धनराज गुरुङ र महालक्ष्मी उपाध्याय ‘डिना’ ले मात्रै धारणा राखे ।




















