ललितपुर । आजदेखि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरु हुने नेपाली कांग्रेस महासमिति बैठकमा दुई हजार एक सय पाँचजना सहभागी हुने भएका छन् ।
“वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरू एक सय ६५, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने महासमिति सदस्यहरू एक हजार सात सय ८०, नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाहरूबाट ६९ र महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका रूपमा सहभागी गराइने छ,” पार्टीका केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाले बैठकको उद्घाटन अपराह्नमा गर्ने कार्यक्रम रहेको छ । बैठकमा यही फागुन ४ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदन भएका प्रतिवेदनमा छलफल हुनेछ ।




















